कास्कीका निर्माण व्यवसायी जापानको वैदेशिक भ्रमणमा

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीमा आवद्ध निर्माण व्यवसायीहरु नेपालको प्रमुख विकास साझेदार जापानको भ्रमणमा निस्किएका छन् । जापानका विभिन्न सहरको विकास र पूर्वाधारन निर्माणको अवलोकनका लागि उनीहरु आज त्यसतर्फ लागेका हुन् ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरुङले संघको कार्यालयमा आयोजित कार्यक्रममा बैदेशिक भ्रमणमा जाने टोलीलाई खादा र माला लगाएर विदाई गर्नुभयो । संघका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीको नेतृत्वमा १५ जनाको टोलीले नौ दिनसम्म जापानको भ्रमण गर्नेछ । टोलीमा संघका सल्लाहकार समेत रहनुभएका पूर्वअध्यक्ष वासुदेव गौचन समेत सहभागी हुनुहुन्छ ।

वैदेशिक अध्ययन भ्रमणले जापानले पछिल्लो समय हासिल गरेका विकास प्रगतिका बारेमा बुझने र सिक्ने अवसरका रुपमा लिइएको संघका अध्यक्ष लिलकाजी गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“जापान नेपालको प्रमुख विकास साझेदार हो । जापान सरकारको सहयोगमा नेपाल र पोखरामा समेत धेरै पूर्वाधार निर्माणको क्रममा छन् । जापानले विकासमा ठूलो प्रगति हासिल गरेको छ । हाम्रो भ्रमणले जापानको विभिन्न सहरहरुमा भइरहेका विकास पूर्वाधारहरुको अवलोकन गरी केही बुझ्ने र सिक्ने मौका मिल्ने विश्वास लिएका छौँ । ”

संघका सचिव डम्बरराज ढकालले वर्षेनी वैदेशिक भ्रमणको कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।  “ हामी निर्माण व्यवसायीले समेत अन्तर्राष्ट्रिय क्षेत्रमा विकासमा के कस्तो प्रगति भइरहेको छ भन्ने बुझेर जानकारी लिएर त्यस्तै मोडल र प्रविधि अनुसरण गर्नुपर्नेछ । यस भ्रमणले सम्पन्न राष्ट्रहरुले गरिरहेको विकास मोडल, प्रविधि र जनशक्तिको बारेमा धेरै कुरा जानकारी लिएर कास्कीमा लागू गर्नेछौँ । ” सचिव ढकालले हिमाली आवाजसँग भन्नुभयो ।

Comments
Loading...