पोखराको जेनेक्समा २८ गते गेमिङ प्रतियोगिता हुने

हिमाली आवाज । पोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ । आरओजी सटडाउन सेरिज नामक विशेष प्रतियोगिता पोखराको जेनेक्स प्लाजामा बिहीबार हुन लागेको हो ।

नागमणि प्रालि र आसुसको सहयोगमा हुन लागेको प्रतियोगितामा लोकप्रिय फुटबल भिडियो गेम इएएफसी २६ मा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् । सहभागीबीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको जेनेक्स अटोमेसनका सञ्चालक नवीन पौडेलले बताउनुभयो ।

प्रतियोगितामा पहिलो बन्ने खेलाडीले २० हजार र दोस्रो हाँसिल गर्नेले १० हजार पाउने छन् । गेमिङ क्षेत्रमा आफ्नो क्षमता देखाउन चाहने खेलाडीहरूलाई प्रतियोगितामा सहभागी हुन आयोजकले आग्रह गरेको छ । खेलाडीहरूले अनलाइनमार्फत नाम दर्ता गरेर प्रतियोगितामा भाग लिन लागेका हुन् ।

जेनेक्स अटोमेसनका सञ्चालक पौडेलले नेपालमा बढ्दो ई–स्पोट्र्स संस्कृति र युवामाझ लोकप्रिय बन्दै गएको गेमिङ गतिविधिलाई प्रोत्साहन गर्ने प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“पोखरा र आसपासका युवालाई आधुनिक प्रविधि र गेमिङ प्लेटफर्मसँग जोड्ने लक्ष्यले हामीले यस कार्यक्रममा सहकार्य गरेका हौं । ” जेनेक्सकी बिक्री प्रबन्धक इच्छा बस्नेतले नेपालमा काठमाडौंबाहिर पहिलोपटक पोखरामा यस खालको प्रतियोजना हुन लागेको जनाउँदै खेलाडीहरुको उत्साहवर्धक सहभागिता हुने अपेक्षा गर्नुभयो ।

जेनेक्स अटोमेसन पोखरा केन्द्रित सूचना प्रविधि, अटोमेसन र आधुनिक इलेक्ट्रोनिक्स उपकरणहरू बिक्री तथा सेवा प्रदान गर्ने कम्पनी हो । कम्पनीले कम्प्युटर हार्डवेयर, गेमिङ उपकरण, स्मार्ट अटोमेसन प्रणाली, नेटवर्किङ समाधान लगायतका प्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

पोखरासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा आईटी तथा इलेक्ट्रोनिक्स उत्पादनहरूको आपूर्ति र प्राविधिक सेवासमेत यसले दिन्छ । जेनेक्सले प्रविधि क्षेत्रको विकाससँगै युवालाई डिजिटल सीप, गेमिङ र नयाँ प्रविधिसँग जोड्ने विभिन्न कार्यक्रम तथा गतिविधि पनि सञ्चालन गर्दै आएको छ । यस प्रतियोगिताले पोखरामा गेमिङ समुदायलाई अझ सक्रिय बनाउने अपेक्षा गरिएको छ ।

Comments
Loading...