हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यास सिलिण्डर लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने एक ग्यास डिलरलाई शनिबार रु ५० हजार जरिवाना गरेको छ ।
बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका –६ जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित फेला पारेपछि सो कारवाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सहित जिल्ला प्रहरी कार्यालय, आयल निगम, स्थानीय जनप्रतिनिधि,उपभोक्ता मञ्चका प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीले पोखराका पाँच वटा ग्यास डिलरको अनुगमन गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बजारमा ग्यासको अभाव भएको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा एउटा डिलरमा कैफियत भेटिएको र उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्कालै जरिवाना गरिएको बताउनुभयो ।
अनुगमन टोलीले भण्डारी ट्रेडर्समा भेटिएका ४८ थान ठूला र ३८ थान साना ग्यास सिलिन्डरहरू पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा तत्काल उपभोक्तालाई बिक्री गर्नसमेत निर्देशन दिएको छ ।
प्रशासनको अग्रसरतामा आजनै बसेको सरोकारवालहरुको समन्वय बैठकले एलसि ग्याँसको बिक्री वितरणलाई व्यवस्थित गर्ने निर्णय समेत गरेको छ ।
प्रशासनले ग्यासको अनावश्यक सञ्चय नगर्न, आधिकारिक प्रमाणपत्र लिएका व्यवसायीले मात्र बिक्री वितरण गर्न र बोतल वा जर्किनमा खुल्ला रूपमा पेट्रोलियम पदार्थ बिक्री नगर्न समेत आग्रह गरेको छ ।
प्रशासनले ज्येष्ठ नागरिक,पूर्ण रुपले अशक्त र अपाङ्गता भएका व्यक्ति र भाडामा बस्ने विद्यार्थीहरुलाई ग्यासमा प्राथमिकताका दिन समेत बिक्रेताहरुलाई आग्रह गरेको छ ।

