हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखी ७ गतेसम्म २१ औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ हुने भएको छ ।
नेपाल हवाई खेलकुद संस्था(ना)को आयोजनामा ‘एक्युरेसी’ विधामा हुने प्रतियोगितामा हालसम्म स्वदेशी तथा विदेशी गरी ९० खेलाडीले नाम दर्ता गराएको खेल संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी खेलाडी पोखराको सराङकोटबाट उडान भरेर फेवाताल किनार खपोँदीमा अवतरण गर्नेछन ।
कोभिड–१९ महामारी र नेपाल नागरिक उड्डयन प्राधिकरणले विसं २०७८ मा देशभर सोलो उडानमा रोक लगाएका कारण २० औँ वर्षसम्म हुँदै आएको च्याम्पियनसिप हुन सकेको थिएन ।
पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान प्याराग्लाइडिङका खेलाडी निशिम थापाको दुर्घटनामा निधन भएपछि प्राधिकरणले सोलो उडान रोक लगाएपछि प्रतियोगिता रोकिएका संयोजक भट्टराईले बताउनुभयो । नेपालले १८ औँ एसियाली खेलकुदमा प्याराग्लाइडिङमा रजत पदक जित्न सफल भएको थियो ।
नेपाल च्याम्पियनसिपको निरन्तरताका कारणलेनै देशले खेलकुदमा सो उपलव्धी हासिल गरेको र प्रतियोगिताले मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको नाका अध्यक्ष अनिल केसीले बताउनुभयो ।
“खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्ज्यको आर्थिक समृद्धिमा टेवा पुर्याउन तथा नेपाली प्याराग्लाइडिङ खेलाडीहरुको क्षमता अभिवृद्धि गर्नु प्रतियोगिताको प्रमुख उद्धेश्य हो । अहिलेको विषम् अवस्थामा देशको पर्यटन क्षेत्रलाई यस प्रतियोगिताले केही हदसम्म भएपनि माथि उठाउन सक्ने विश्वास लिएका छौँ । ” अध्यक्ष केसीले भन्नुभयो ।
च्याम्पियनसिपबाट छनोट भएका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्याराग्लाइडिङ प्रतियोगिताहरुमा भाग लिन सक्नेछन् ।
यसैगरी यस खेलबाट आसन्न १० औँ राष्ट्रिय खेलकुदका लागि प्याराग्लाइडिङ विधाका गण्डकी प्रदेशस्तरीय खेलाडी समेत छनोट गरिने अध्यक्ष केसीले बताउनुभयो।
च्याम्पियनसिपमा पुरुषतर्फको एक्युरेसी विधानमा च्याम्पियन हुनेले रु एक लाख ५० हजार मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी द्धितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ५० हजार पुरस्कार पाउनेछन् ।महिलातर्फ च्याम्पियनले रु ७५ हजार, द्धितीयले रु ५० हजार र तृतीयले रु २५ हजार पुरस्कार पाउनेछन् ।
यसैगरी टिम ओभरअल विधामा पहिलो हुनेले रु ७५ हजार, द्धितीयले रु ५० हजार र तृतीयले रु २५ हजार पुरस्कार पाउने नाका महासचिव बलराम आचार्यले जानकारी दिनुभयो ।
च्याम्यिनसिपमा मौसमको अवस्था महत्वपूर्ण हुने भएकाले उडान अघि आधिकारिक मौसम पूर्वानुमान अध्ययन गरेर मात्र खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
खेलाडीहरुलाई हावाको दिशा, तापक्रम, थर्मल गतिविधि तथा सम्भावित जोखिमबारे जानकारी सहितको ब्रिफिङ गरिने र कार्यक्रम स्थलमा आवश्यक मात्रामा स्वयंसेवक, आकस्मिक उद्धार टोली सशस्त्र प्रहरी बल र नेपाली सेना मोटर बोट सहित आवश्यक उद्धार उपकरण सहित तैनाथ गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

