पर्वतीय दौड पोखराको ब्राण्ड बन्यो,लेकसाइडबाटै दौड सुरुआत गर्न सुझाव

हिमाली आवाज । विश्व पर्यटन दिवसका सन्दर्भमा पोखरामा आयोजना हुँदै आएको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितालाई पोखराको नयाँ ब्रान्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रकोे आयोजनामा पोखरामा संचालन हुदै आएको आठ किलोमिटर दूरीको उक्त पर्वतीय दौडलाई विस्तार गरी हाफ म्याराथन (२१ कि.मी.) हुँदै फूल म्याराथनको अवधारणामा लैजानुपर्ने सुझाव समेत दिए ।

बुधबार पोखरास्थित सिल्भर प्लेट पार्टी प्यालेसमा आयोजित दोस्रो संस्करणको समीक्षा कार्यक्रममा बोल्दै सरोकारवालाले प्रतियोगितालाई दीर्घकालीन रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै विदेशी धावकहरूको सहभागिता अझ बढाउनुपर्नेमा जोड दिनुभयो । ‘रन फर रन’ जस्ता कार्यक्रम समावेश गरी अन्तर्राष्ट्रिय धावक आकर्षित गर्न तथा छुट्टै वेबसाइटमार्फत प्रचारप्रसारलाई सशक्त बनाउन सुझाव दिनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ट्रायथलन र पर्वतीय दौड विदेशी पर्यटकमाझ लोकप्रिय हुने भएकाले समयमै प्रभावकारी प्रचार आवश्यक रहेको बताउनुभयो । उहाँले पुम्दी–भुम्दीबाट पञ्चासेसम्मको रुट विस्तार गर्न सुझाव दिनुभयो । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रतियोगितालाई २१ किलोमिटर हाफ म्याराथनका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । होटल संघ पोखराका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले प्रतियोगिताको स्थल आफैंमा आकर्षक गन्तव्य भएकाले यसलाई थप विस्तार गर्दै तारेभिर हुँदै पञ्चासेसम्म पु¥याउन आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बरालले अघिल्ला संस्करणहरूको सूक्ष्म विश्लेषण गरी आगामी संस्करणलाई अझ परिस्कृत बनाउनुपर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको उल्लेख गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्राविधिक संयोजक ओम गुरुङले दोस्रो संस्करणमा उल्लेखनीय सुधार भएको बताउँदै तेस्रो संस्करणलाई अझ व्यवस्थित र बृहत बनाउनुपर्ने धारणा राखे राख्नुभयो । मेडिकल टिमका संयोजक एवं नेलम्बो नेपालका कार्यक्रम अधिकृत भीमप्रसाद भण्डारीले स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी बनाउन रणनीति परिमार्जन गरिएको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश एथलेटिक्स सङ्घका महासचिव मनबहादुर थापाले एथलेटिक्सतर्फ धेरै विधा भएकाले वातावरण र त्यहाँको वस्तुस्थितिले गर्दा निकै उपयुक्त र पर्यटकीय आकर्षणको निकै लोभलाग्दो दौड भएको बताउनुभयो ।
‎वडा युवा परिषद् पोखरा २२ का अध्यक्ष दिनेश बरालले समग्रमा उक्त प्रतियोगिता राम्रो भएको बताउँदै यसपाला जेन्जी आन्दोलनले धेरै कार्यक्रमहरू स्थगित भएको अवस्थामा पनि उक्त प्रतियोगिताले निरन्तरता पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

‎पत्रकार कृष्णप्रसाद दवाडीले प्रतियोगितालाई समयमै समीक्षा गर्दै थप व्यवस्थित बनाउन र पोखरेली समुदायले अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।पत्रकार सन्देश श्रेष्ठले प्रतियोगितालाई व्यावसायिक रूपमा पवद्र्धन गरेर हाफ म्याराथनको रूपमा स्तरोन्नति गर्न सुझाव दिनुभयो ।

पोखरा प्रबद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले सरोकारवालाका सुझावलाई मनन गर्दै आगामी संस्करणर्लाइ थप परिस्कृत गर्दै लाग्ने बताउनुभयो । जेनजी आन्दोलनको कठिन परिस्थितीमा प्रतियोगिताले पोखरा क्षेत्रको खेल पर्यटन प्रबद्र्धन गर्न निरन्तरता दिएको बताउदै प्रतियोगिताका संयोजक दीननाथ बरालले प्रतियोगिता हरेक वर्ष विश्व पर्यटन दिवसको अघिल्लो शनिबार आयोजना हुने जानकारी दिनुभयो ।

गत असोज ११ गते सम्पन्न दोस्रो संस्करणमा नेपालसहित आठ देशका १६७ धावक सहभागी भएका थिए । प्रतियोगितामा सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले उपाधि जित्दा विदेशीतर्फ फ्रान्सका थियो डनेट तथा भेट्रान्सतर्फ किशोर थापा विजेता बनेका थिए । विभिन्न विधाका विजेतालाई कुल २ लाख ९ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।

Comments
Loading...