हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरामा महिन्द्राका इलेक्ट्रिक एसयुभी ‘बीई–६’ र ‘एक्सईभी ९–ई’ को बिक्री सुभारम्भ भएको छ ।
नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता विवि अटोमोवाइलसँगको सहकार्यमा आज दुई नयाँ इलेक्ट्रिक ओरिजिन एसयुभी बीई–६ र एक्सईभी ९–ई सार्वजनिक गरेको हो ।
महिन्द्रका यी गाडीहरुको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, अग्नी ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका रिसर्च एण्ड बिजनेश डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राको नेपाल, भुटान र बंगलादेशका कन्ट्री हेड चैतन्य कागलकार, अग्नी ग्रुपका एसयुभी प्रोडक्ट हेड रामेश्वर महर्जन, बिइभी प्रोडक्ट हेड सुरज राजबंशी, बतास ग्रुपका अध्यक्ष आनन्दराज बतास, बिबि इन्कर्पोरेटेडका प्रवन्ध निर्देशक शान्तराज बतास लगायतले यी गाडीको शुभारम्भ गर्नुभयो ।
महिन्द्राको नयाँ ‘इङग्लो’ प्लेटफर्ममा आधारित यी गाडीहरू संसारकै अत्याधुनिक ‘माइया’ आर्किटेक्चरबाट सञ्चालित छन् ।
बीई–६ को सुरुवाती मूल्य ५७ लाख रुपैयाँ र एक्सईभी ९–ई को सुरुवाती मूल्य ६९ लाख रुपैयाँ तोकिएको छ । दुवै मोडलका विभिन्न भेरियन्टहरूका लागि बुकिङ खुला भइसकेको कम्पनीले जनाएको छ ।
नयाँ एसयुभीहरूमा सुरक्षा र प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ । एक्सईभी ९–ई मा ट्रिपल स्क्रिन सिनेम्याटिक डिस्प्ले र एडास लेभल २ प्लस सुरक्षा सुविधा छ भने बीई–६ मा रेस–रेडी डिजिटल ककपिट र एडास लेभल २ उपलब्ध छ । अधिकांश भेरियन्टले १९० किलोवाटको शक्तिशाली पावर प्रदान गर्दछन् ।
कार्यक्रममा मन्त्री थापाले सार्वजनिक यी गाडीहरु अत्यन्त उत्कृष्ट रहेको बताउनुभयो । उहाँले ग्राउन्ड क्लिरेन्स राम्रो रहेकाले ग्राहकको रोजाईमा पर्ने उल्लेख गर्नुभयो ।
अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले विद्युतीय गतिशीलतामा रूपान्तरण हुनु नेपालको दिगो विकास र ऊर्जा आत्मनिर्भरताका लागि महत्वपूर्ण कदम भएको बताउनुभयो । ‘यो सार्वजनीकरणसँगै नेपालको क्षेत्रीय स्तरमा विद्युतीय सवारीको नयाँ यात्रा सुरु भएको छ ।” श्रेष्ठले भन्नुभयो ।

