हिमाली आवाज । नेपालको आर्थिक नगरी वीरगंजबाट यसबर्षको जाउँ है पोखरा अभियान सुरु भएको छ ।
होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो कार्यक्रम सुरु भएको हो ।
आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर सुरु भएको अभियान चैत १३ गतेसम्म संचालन हुने छ । आन्तरिक पर्यटन प्रबद्र्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता अनुरुप २५ बर्षअघि यो अभियान सुरु गरिएको थियो । अभियान अन्तर्गत विराटनगर, इलाम र हेटौंडालाई पनि छनोट गरिएको छ ।
वीरगंज उद्धोग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले अभियानको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक फड्को मार्न सक्ने बताउनुभयो । सिमा नाकामा भारतीय पर्यटकलाई तीन किलोमिटर दुरीमा सात ठाउँमा चेकिङ गर्ने गरिएको भन्दै उहाँले असन्तुष्टी जाहेर गर्नुभयो । “पुलिसले पैसा खान यस्तो गरेको हो । ” उहाँको दावी छ। भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने बताउँदै उनले नेपालले पूर्वाधार विकासमा ध्यान दिनु पर्ने सुझाव दिनुभयो ।
आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले माओवादी द्वन्द्व, भुकम्प, नाकाबन्दी, कोभिड र बैंकको चर्को ब्याजदेखि मध्यपूर्व तनावसम्म आइपुग्दा नेपाली पर्यटनले धेरै मार खेप्नु परेको बताउनुभयो । सो अवसरमा उहाँले विगतमा संचालन भएर विचमा रोकिन पुगेको पोखरा–सिमरा हवाई उडान सेवा पुनः संचालन गर्नुपर्ने आबश्यकता औंल्याउनुभयो।
मधेश प्रदेशका पूर्ब मन्त्री ओमप्रकाश शर्माले पोखरा–सिमरा उडान रोकिनु दुःखद विषय भएको बताउँदै उडान सुरु गर्ने कार्यमा आफ्नो पनि भूमिका रहेको स्मरण गराउनुभयो । यात्रु अभाव हुँदा जहाज कम्पनीलाई हुने घाटा ब्यहोरेर भए पनि सरकार र नीजी क्षेत्र मिलेर उक्त रुटमा उडान सुचारु गरिनुपर्ने सुझाव उहाँको छ ।
संघका अध्यक्ष सुबेदीले पोखराको होटल क्षेत्रमा मात्र ६ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको जानकारी दिंदै पोखरा पुग्ने पर्यटक मध्ये ४० प्रतिशत हिस्सा आन्तरिक पर्यटकको रहने गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा उहाँले यही चैत २९ देखि बैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा आयोजना हुने नयाँबर्ष महोत्सवमा सहभागिताका लागि पुर्वका बासिन्दालाई निम्ता प्रदान गर्नुभयो । महोत्सवका सहभागी पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने घोषणा पनि गर्नुभयो ।
सो अवसरमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछानेले पोखरालाई उत्कृष्ट र पहिलो रोजाइको पर्यटकीय गन्तव्य बनाउन बोर्डले ब्यबसायीसँग सहकार्य गरेर अगाडि बढीरहेको बताउनुभयो ।
कार्यक्रममा ब्यबसायीले भारतीय र तराई मूलका पर्यटकलाई पोखरामा भेदभाव गर्ने गारिएको, सिमा नाकामा भारतीय पर्यटकले हैरानी खेप्नु परेको, पोखराका ट्यक्सीले मनलाग्दी भाडा असुल्ने गरेको र पोखरामा भारतीय पर्यटकका सवारीलाई निर्वाध संचालनमा अबरोध सिर्जना गर्ने गरिएको गुनासो सुनाउनुभयो ।
भारतीय सवारीलाई सिमानाकामा दिइने प्रज्ञापनपत्र अनलाइनमार्फत् दिन पनि ब्यबसायीले माग गरे । २५ हजार भारु भन्दा बढी रकम बोकी नेपाल आउने भारतीयलाई सिमानामा अझै पनि दुःख दिने गरिएको विषय पनि सो अवसरमा चर्चा गरियो । पोखरामा फोहोर बढेको, कंकृटका घर बढ्दै गएको र फेवाको उचित संरक्षण नभएको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा र वरपरका उत्कृष्ट पदयात्रा गन्तव्यका बारेमा चर्चा गर्नुभयो । पूर्ब र पोखराले एक अर्काको हितको लागि पर्यटक र व्यापार आदानप्रदान गर्न सक्ने पनि उहाँले चर्चा गर्नुभयो ।
सो अवसरमा वीरगंज उद्धोग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, समाजसेवी एबं उद्धोगपती अशोककुमार बैद्य, पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जरा र आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेस्ठले भनाई राख्नुभयो ।

