बालमैत्री सञ्चार अभ्यास सम्बन्धी पोखरा घोषणापत्र जारी

हिमाली आवाज । बालबालिकाको सर्वोत्तम हित र सञ्चार माध्यमको उत्तरदायित्वलाई प्रभावकारी बनाउने उद्धेश्यले बालमैत्री सञ्चार सम्बन्धी पोखरा घोषणापत्र जारी गरिएको छ ।

नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशमा क्रियाशील सञ्चारकर्मीहरूबीच आज भएको बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रममा सो आठ बुँदाको घोषणापत्र सार्वजनिक गरिएको हो ।

बालबालिका आजका साझेदार र भोलीका कर्णधार रहेकाले उनीहरुको सुरक्षित वर्तमान र उज्वल भविष्य निर्माणमा सञ्चार माध्यमको भूमिका ‘रक्षक’को रहने प्रतिवद्धता गरिएको छ ।
घोषणापत्रमार्फत सञ्चारमाध्यम र पत्रकारहरूले बालअधिकारको संरक्षण, प्रवद्र्धन तथा सम्मानमा केन्द्रित भई समाचार सामग्री उत्पादन र प्रसारण गर्ने प्रतिबद्धता जनाएका छन् ।
साथै बालबालिकासँग सम्बन्धित विषयवस्तु प्रस्तुत गर्दा उनीहरूको गोपनीयता, संवेदनशीलता र सर्वोत्तम हितलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।
बालबालिकाको गोपनियता र आत्म सम्मानको पूर्ण रक्षा,यौन हिंसाका घटनामा अति संवेदनशिलता,विभत्स र सनसनीपूर्ण सामग्रीमा निशेध,अन्तर्वाता र तस्बिर प्रयोगमा पूर्व स्वीकृति,बालमैत्री शब्दाबलीको प्रयोग, सकारात्मक समाचारलाई प्राथमिकता, विज्ञापनमा बालबालिकाको प्रयोगमा सजगता र स्वनियमनलाई घोषणापत्रमा समेटिएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले काउन्सिलले पत्रकारका लागि बालमैत्री सञ्चार निर्देशिका बनाएको बताउँदै आचारसंहिताको उल्लङघ्न भएमा काउन्सिलमा उजुरी दिन सकिने बताउनुभयो ।

“आचार संहिता विपरितको काम गर्ने सञ्चारमाध्यमलाई काउन्सिलले स्पष्टिकरण सोध्ने, खण्डन छाप्न लगाउने, माफी माग्न लगाउने वा कालोसूचीमा राख्नेसम्मको कारवाही गर्न सक्छ ।” लामिछानेले भन्नुभयो ।

पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले बालमैत्री सञ्चार निर्देशिकालाई व्यवहारमा उतार्दै जिम्मेवार पत्रकारितामार्फत बालबालिकाको अधिकार सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।

राष्ट्रिय बाल परिषद्को गण्डकी प्रदेशका समन्वय अधिकृत वद्रीप्रसाद वाग्लेले सबै स्थानीय तहमा बालकल्याण अधिकारी तोकिनुपर्ने व्यवस्था रहेपनि गण्डकीका ८५ पालिका मध्येमा हालसम्म ६८ वटामा मात्र कार्यान्वयन गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीका सुरेश रानाभाटले बालसञ्चार निर्देशिकाको परिचय र मुख्य प्रावधान, बाल संवेदनशील पत्रकारिता, पत्रकार आचारसंहिता बारेमा सहजीकरण गर्नुभयो । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख उपसचिव हरिबहादुर खपाङ्गीले बालअधिकारका सम्बन्धमा सवै पक्ष जिम्मेवार र संवेदनशिल बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

Comments
Loading...