पत्रकार महासंघको स्थापना दिवस : पोखरामा राजबहादुर र सहारालाई सम्मान ,फडिन्द्र र एकराजलाई पुरस्कार

हिमाली आवाज । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवस सोमबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । महासंघ तथा शाखाहरुले स्थापना दिवसमा कार्यक्रमहरु गरेका हुन् ।

महासंघ कास्की शाखाले भने स्थापना दिवस अवसरमा ‘पोखरा पत्रकारिता सम्मान’ र जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कारबाट पत्रकाहरुलाई पुरस्कृत गरेको छ ।
कार्यक्रममा पोखरा पत्रकारिता सम्मानबाट पत्रकार राजबहादुर गुरुङ नगद रु ५० हजार पाँच सय ५५, सम्मानपत्र र दोसल्लाबाट सम्मानित हुनुभयो । यसैगरी सोही सम्मान संस्थागततर्फ खेलकुद विकासमा क्रियाशील सहारा क्लब पोखरालाई प्रदान गरियो । सम्मानित व्यक्तित्व गुरुङ युनाइटेडखबरका प्रधान सम्पादक हुनुहुन्छ ।

यसैगरी जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कारबाट फडिन्द्र अधिकारी र एकराज गिरीलाई जनही रु २५ हजार पाँच सय ५५ सम्मानपत्र र दोषल्लाबाट पुरस्कृत गरिएको हो। अधिकारी गोरखापत्र दैनिक र समाधानमा आवद्ध हुनुहुन्छ भने गिरी सफल न्यूजका सम्पादक रहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, महासंघ कास्की शाखाका अध्यक्ष माधव बराल, प्रेस स्वतन्त्रता सेनानी कुशुमकेशव पराजुली लगायतले सो सम्मान अर्पण गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा आउने सूचना र वास्तविक सूचना फरक हुन् भनेर नागरिकलाई बुझाउने जिम्मेवारी सञ्चारकर्मीको रहेको उल्लेख गर्नुभयो ।
“सामाजिक सञ्जालमा आउने पोष्टलाई मानिसले समाचार भनेर विश्वास गर्ने गरेका छन्, सत्य के हो भन्ने तिर नलागिकन त्यही समाचार हो भन्ने अवस्था छ, समाजले सत्य के हो तथ्य के हो भनेर छुट्टाउन नसकेकाले पत्रकारितामा चुनौती अझ थपिएको छ । त्यसतर्फ सबै पत्रकारले ध्यान दिनु पर्दछ । ” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

सरकार गलत बाटो र अधिनायकवादी सोंच राखेर अगाडि बढ्न खोजेमा त्यसलाई पत्रकारिता जगतले चिर्नुपर्ने मुख्यमन्त्रीले बताउनुभयो ।
“पत्रकारिता जगत स्थायी प्रतिपक्ष भएको र यो आवाजविहीनहरुको आवाज बोल्ने संस्था भएकाले पनि यसले खेल्ने भूमिका र जिम्मेवारी महत्वपूर्ण हुन्छ । सत्ता पक्ष असाध्यै बलियो र प्रतिपक्ष कमजोर भएको बेलामा पत्रकारिता जगत पनि कमजोर भयो वा पत्रकारिता जगत डगमगायो भने सत्ता निरकुंश हुनसक्छ ।” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

Comments
Loading...