हिमाली आवाज । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही चैत २८ गते हुने पोखरामा हुने “नाइट रन” प्रतियोगिताको तयारी तीव्र पारिएको छ । मंगलबार आयोजित छलफलमा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरामा पहिलोपटक हुन लागेको रात्रिकालीन दौडप्रति उत्साहसँगै सुरक्षा चुनौती पनि उत्तिकै रहेकाले त्यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले क्याम्पिङचोकदेखि पामेसम्मको रुट उपयुक्त हुने सुझावसमेत दिनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा इभेन्टहरूको सहरको रूपमा स्थापित भइसकेको बताउँदै यस्ता कार्यक्रममा विदेशी पर्यटकको सहभागिता बढाउन सके भविष्यमा बजेट व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । पोखरा भ्रमण वर्ष २०२५÷०२६ का संयोजक गोपीबहादुर भट्टराईले रातको समयमा आयोजना हुने यस प्रतियोगिताको छुट्टै महत्व रहेको उल्लेख गर्दै बाराहीघाटदेखि हल्लनचोक क्षेत्रसम्म शान्ति सुरक्षा कायम गर्न स्थानीयले पनि सहयोग गर्ने बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्रतियोगितालाई आवश्यकतानुसार सहयोग गर्ने बताउँदै यसलाई पोखराको नयाँ पहिचानका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्नुभयो । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन विभिन्न अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्न सुझाव दिनुभयो । उहाँले भविष्यमा रुट विस्तार गरी विन्ध्यवासिनी मन्दिर हुँदै अगाडि बढाएर प्रतियोगितालाई पोखराको ब्रान्डिङ बनाउनु पर्नेमा जोड दिनुभयो।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरामा नयाँ कार्यक्रम थपिनु सकारात्मक भएको बताउँदै खेलकुदमार्फत पर्यटन प्रवद्र्धन हुने बताउनुभयो। पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष शोभाकान्त पौडेलले प्रतियोगिता सफल पार्नका लागि आवश्यक परे ट्याक्सी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।
होटल संघ पोखरा नेपालका द्वितीय उपाध्यक्ष गणेशराज पहाडीले नाइट रन र फेवा नववर्ष महोत्सवबीच सहकार्य हुने बताउँदै चैत २९ देखि वैशाख १ गतेसम्म हुने महोत्सवले प्रतियोगिताकोसमेत प्रवद्र्धन गर्ने बताउनुभयो । प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले शान्ति सुरक्षाका लागि आवश्यक तयारी गरिए पनि थप व्यवस्थापनका लागि स्थानीयको सहयोग अपरिहार्य हुने बताउनुभयो । सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले नयाँ कार्यक्रम भएकाले धेरैभन्दा धेरै धावक सहभागी गराउन आयोजकलाई सुझाव दिनुभयो ।
कार्यक्रम संयोजक दीननाथ बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटा, रेवान पोखराका प्रथम उपाध्यक्ष वसन्त गौतम लगायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले यसअघि पुम्दीभुम्दी पर्वतीय दौड सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै यस नाइट रनले पोखराको मुख्य पर्यटकीय तथा व्यापारिक क्षेत्र जोड्दै समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । संयोजक दीननाथ बरालले खेलकुद मार्फत रात्रिकालीन पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको यो प्रतियोगिता कोशेढुंगा साबित हुने धारणा राख्नुभयो ।
नयाँ वर्षको पूर्वसन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” नारासहित आयोजना हुने यस नाइट रनका लागि अनलाइन दर्ता खुला गरिएको र पोखरा क्लिकको अनलाइन पोर्टलमार्फत फारम भर्न सकिने केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजकले सहभागीको बिमाका साथै रिफ्लेक्टिभ (चम्किने) टिसर्ट उपलब्ध गराउने र धावकहरूले हेडल्याम्प प्रयोग गर्न सक्ने आयोजक संस्थाले जनाएका छन् ।
प्रतियोगिता फेवाताल किनारस्थित बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किमी, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर सम्पन्न हुने छ । ५ किलोमिटर दौडको उक्त रुट पोखरा महानगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ समेट्ने र विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।

