नयाँवर्षमा पोखरामा ‘फेवा नववर्ष’ महोत्सव हुने, तीन लाख पर्यटक भित्राउने

हिमाली आवाज । मध्यपूर्वको तनाव लगायतका कारणले शिथिल पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्धेश्यले नेपाली नयाँवर्ष २०८३ का अवसरमा देशको पर्यटकीय राजधानी पोखरामा फेवा नववर्ष महोत्सव हुने भएको छ ।

होटल संघ पोखराले पर्यटन, संस्कृति र खानाको नारा सहित यही चैत २९ देखी वैशाख १ गतेसम्म २१ औँ संस्करणको महोत्सव गर्न लागेको हो ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराको खहरेचोकदेखी शहीदचोकसम्मको चार किमी क्षेत्रमा महोत्सव सञ्चालन हुने जानकारी दिनुभयो । महोत्सवमा स्वदेशी तथा विदेशी गरी तीन लाख पर्यटक पोखरा आउने अनुमान गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

“नेपाली नयाँवर्ष पर्यटकीय राजधानीमा भव्य रुपमा मनाउने र स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवद्र्धन गर्नु महोत्सवका मुख्य उद्धेश्य हो । हरेक संकटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनःरुत्थान गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश प्रवाह गर्न महोत्सव फलदायी हुने विश्वास लिएका छौँ । ” अध्यक्ष सुवेदीले भन्नुभयो ।

महोत्सवका आकर्षणमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पञ्चैबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता रहेका छन् । सांस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी र पप कन्सर्टका कार्यक्रम पनि रहेको महोत्सवका प्रचारप्रसार संयोजक पार्वता पाण्डेले जानकारी दिनुभयो ।
महोत्सवलाई भव्य बनाउन विभिन्न उपसमितिबाट काम भइरहेको छ । संघले केही दिन अघि पूर्वी नेपालका विभिन्न शहरमा पुगी नेपाल पर्यटन बोर्ड गण्डकीसँगको समन्वयमा ‘जाउँ है पोखरा’ कार्यक्रम अन्तर्गत संघले फेवा महोत्सवको निम्ता बाँडिसकेको छ ।

यसैगरी लुम्बिनी प्रदेशका संचारकर्मीमार्फत् पश्चिमका बासिन्दालाई पनि महोत्सवका सहभागिताका लागि आमन्त्रण पनि संघले गरेको छ ।
होटल संघले महोत्सवका अवसरमा होटलको अकुपेन्सी दर ९० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ ।
महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन् ।

Comments
Loading...