गण्डकी प्रदेश निर्माण व्यवसायी संघले भन्यो : निर्माण क्षेत्रमा सुनामी आउने अवस्था आयो, सरकारले सहयोग गर्नुपर्छ

हिमाली आवाज । मध्यपूर्वको तनावका कारण इन्धन लगायत निर्माण सामग्रीमा चरम मुल्य वृद्धि हुँदा निर्माण व्यवसाय संकटमा पुगेको निर्माण व्यवसायीले बताएका छन् ।

गण्डकी प्रदेश निर्माण व्यवसायी संघले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी इन्धन र निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ । संघका अध्यक्ष टंकराज बरालले गण्डकीका पाँच सय बढी आयोजनाको काम रोकिने अवस्था आएको बताउनुभयो । “मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण कार्य ठप्प हुने अवस्था आएको छ । हामीले सरकारसँग राहत प्याकेज र ठेक्का रकम समायोजनको माग गरेका छौँ । निर्माण क्षेत्रमा तत्काल नीतिगत तथा व्यावहारिक पहल आवश्यक नभए यस क्षेत्रमा सुनामी आउने अवस्था छ । ” अध्यक्ष बरालले भन्नुभयो ।

संघका महासचिव कृष्ण लम्सालले निर्माण क्षेत्रमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनको मूल्य पछिल्लो समय पटक–पटक अस्वाभाविक रूपमा बढ्दै गएको बताउनुभयो । त्यससँगै सिमेन्ट, डन्डी, गिट्टी, बालुवा जस्ता निर्माण सामग्रीको मूल्य पनि निरन्तर उकालो लागेको लम्सालले बताउनुभयो । महासचिव लम्सालले भन्नुभयोे,“ मध्यपूर्वको तनावपछि मुल्यवृद्धि हुँदा निर्माण कार्यको लागत अत्यधिक बढेको छ । ठेक्का अनुसार काम सम्पन्न गर्न कठिनाइ उत्पन्न भएको छ। मूल्यवृद्धि र सामग्री अभावका कारण निर्माण उद्योग धराशायी देखिएको छ । ”
नेपाल राष्ट्र बैंकको सूचकांक अनुसार मूल्य समायोजन हुने व्यवस्था भए पनि वास्तविक बजार मूल्य अनुसार समायोजन हुन नसक्दा व्यवसायी थप मारमा परेको संघका पूर्व केन्द्रीय सदस्य तथा कास्की संघका पूर्वअध्यक्ष सुरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिलेको अवस्थाले राष्ट्रिय गौरवका आयोजनादेखि साना तथा मझौला परियोजनासम्म निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने जोखिम बढ्दै गएको छ ।
निर्माण व्यवसायीहरुले समस्या समाधानका लागि इन्धनको मूल्यवृद्धि अनुसार ठेक्का रकम समायोजन गर्ने स्पष्ट निर्देशिका जारी गर्न, राहत प्याकेज ल्याउन तथा बैंक ग्यारेन्टी र बिमामा सहुलियत दिन सरकारसँग माग गरेका छन्।

Comments
Loading...