माछापुच्छ्रे गाउँपालिकाको सुविधासम्पन्न नयाँ प्रशासकिय भवनबाट सुरु भयो सेवा

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकाको सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ ।
पालिकाको केन्द्र लाहाचोकस्थित सानोपाटन(साहुथर)मा १० रोपनी जमिनमा गाउँपालिकाले प्रशासकीय भवन निर्माण गरेको हो ।

गाउँपालिकाले आजदेखी नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिनुभयो ।
सुविधासम्पन्न भवनमा पालिकाको सेवा सरेसँगै सेवाप्रवाहमा सहज हुने विश्वास गरिएको छ । “पुरानो भवन र साँघुरा कोठाबाट सेवा दिनुपर्ने बाध्यता अब अन्त्य भएको छ । सुविधासम्पन्न भवनले अब सेवाग्राहीलाई पनि सजिलो भयो, हामीलाई पनि काम गर्न सजिलो भयो।” प्रमुख प्रशासकीय अधिकृत सुवेदीले हिमाली आवाजसँग भन्नुभयो ।

गाउँपालिकाले साविक लाहाचोक गाविस रहेको भवनबाट सेवा दिँदै आएको थियो । पालिका नयाँभवनमा सरेसँगै वडा कार्यालयले समेत फराकिलो स्थानबाट काम गर्नेछ । यससँगै स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई समेत सहज हुनेछ ।

गाउँपालिकाको तीन तलाको नवनिर्मित भवनको पहिलो तलामा शिक्षा, स्वास्थ्य, महिला बालबालिका लगायतका विषयगत शाखाका कार्यालयहरु रहनेछन् ।
दोस्रो तला योजना, पूर्वाधार, सूचना प्रविधि, आर्थिक प्रशासन, प्रशासन र प्रमुख प्रशासकीय अधिकृतको कार्यालय रहनेछ ।
तेस्रो तलामा अध्यक्ष÷उपाध्यक्षकोे कार्यकक्ष सहित, कार्यपालिका बैठक कक्ष, सभाहल र न्यायिक समितिको कार्यकक्ष रहनेछ ।

गाउँपालिकाको भवन निर्माणका लागि विसं २०७७ मा नयाँ बाटो÷जिएस इन्जिीनियरिङ जेभीसँग ठेक्का सम्झौता भएको थियो । रु छ करोड ६२ लाख ११ हजार ९०६ लागतमा ठेक्का सम्झौता भएको थियो । तर तोकिएको समयभन्दा चार वर्ष ढिला गरी भवन निर्माण गरिएको हो । गाउँपालिका भवनका लागि स्थानीयवासीले जमिन उपलव्ध गराएका थिए ।

निर्माण कम्पनीको ढिलासुस्ती, स्थानीयस्तरमा उत्पन्न विवाद र प्राविधिक समस्या उत्पन्न हुनु लगायतका कारणले ढिलाई भएको पालिकाले जनाएको छ ।
पालिकाको भवन निर्माणका लागि जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषको रु दुई करोड ५० लाख र प्रदेश सरकारको रु ५० लाख लगानी गरेका थिए । बाँकी रकम पालिकाले आन्तरिक स्रोतबाट लगानी गरेको हो ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले साँघुरो भवनबाट सेवा दिँदा अप्ठ्यारो भएकामा सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा समेत सहज र सुधार हुने बताउनुभयो ।
“पुरानो भवनमा पर्याप्त ठाउँ नहुँदा राम्रोसँग कुर्सी टेवल समेत राख्न सकिने अवस्था थिएन । अहिले सुविधासम्पन्न भवन बनाएर नयाँ भवनबाट सेवा सुरु गरेका छौँ । गाउँपालिकाको प्रशासनिक सहित विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुनेछ । सेवा प्रवाह छिटो,प्रभावकारी, व्यवस्थित र पारदर्शी हुनेछ । ” अधिकारीले भन्नुभयो ।

Comments
Loading...