हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख ३१ गते दसौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड हुने भएको छ ।
मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्य सहित आयोजना हुँदै आएको अवार्डको तयारी अघि बढाइएको जनाएको हो ।
मञ्चका अध्यक्ष एमवि आस्था मगरले यस वर्ष नौ विधामा अवार्ड प्रदान गरिने बताउनुभयो । मञ्चले खेलाडीहरूको मनोवल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पु¥याउन यस्तो अवार्ड कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ ।
स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष र महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ÷संस्था वा क्लब, स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार अवार्ड समावेश छन् ।
वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुषले एक÷एक थान स्कुटर पुरस्कार पाउनेछन् । “पोखरा स्पोर्टस् अवार्ड गण्डकी प्रदेशकै ब्राण्ड बनेको छ । खेलकुद क्षेत्रको विकासमा योगदान गर्नेहरुलाई अझ बढी उत्प्रेरित र प्रोत्साहित गर्नका लागि कार्यक्रमले योगदान पुग्नेछ । ” अध्यक्ष मगरले भन्नुभयो ।
यसैगरी यसपटक ‘पिपुल्स च्वाइस’ र ‘स्पेशल अवार्ड’थप गरिएको मञ्चले जनाएको छ । ‘पिपुल्स च्वाइस अवार्डका लागि पाँच जना खेलाडीहरुको मनोनयन सार्वजनिक भई भोटिङ प्रक्रिया समेत जारी रहेको छ ।
यस विधामा मनोनयनमा पर्ने खेलाडीहरुमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहनुभएको छ ।
विगत एक वर्षभरिको प्रदर्शनका आधारमा मनोनयनमा परेका खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुनेछ ।
मञ्चका अनुसार यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एप मार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउनेछन् ।
जसको सबैभन्दा बढी भोट आउँछ उसैले विजेता बनेर अवार्ड प्राप्त गर्नेछ । मनोनयनमा परेका खेलाडीहरूका लागि सोमबारबाट भोटिङ सुरु भएको छ । आफूलाई मन परेको खेलाडीलाई भोटिङ गर्न सकिने छ । यस विधामा उत्कृष्ट खेलाडीले एक थान स्कुटर पुरस्कार पाउनेछन् ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका लगायतले सहयोग गरेको मञ्चका महासचिव प्रशुराम शर्माले जानकारी दिनुभयो।
विसं २०५७ मा कास्कीबाट स्थापना भई हाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विसं २०७२ देखि नियमित रूपमा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ ।