पोखरामा मानव सेवा आश्रमको भवनका लागि वैशाख १९ देखी महायज्ञ(भिडियो सहित)

हिमाली आवाज । मानवसेवा आश्रम कास्की शाखाले हेम्जामा वैशाख १९ देखि २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” आयोजना गर्ने भएको छ। महायज्ञमार्फत संकलित रकम निर्माणाधीन भवन सम्पन्नता र सेवा विस्तारमा खर्च गरिने आश्रमले जनाएको छ।

पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा आश्रमका केन्द्र प्रमुख रामजी अधिकारी ले महायज्ञलाई निर्माण सम्पन्न गर्ने अभियानका रूपमा लिइएको बताउनुभयो । भवनसँगै लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष वृद्धि पनि महायज्ञको मुख्य लक्ष्य हुन्।

आठ दिनसम्म सञ्चालन हुने महायज्ञ अवधिमा धार्मिक प्रवचन, योग शिविर, निःशुल्क स्वास्थ्य सेवा, युवा लक्षित उत्प्रेरणात्मक कार्यक्रम तथा सांगीतिक प्रस्तुति गरिने कार्यक्रम छ। आयोजकका अनुसार महायज्ञले धार्मिक तथा सामाजिक जागरणसँगै सेवा कार्यका लागि आवश्यक स्रोत जुटाउने अपेक्षा गरिएको छ।

बाबियातहरामा अवस्थित आश्रम परिसरमा हुने उक्त महायज्ञमा वालवालिका देखि बृद्धसम्म गरी सबै उमेर समूहका सहभागीलाई केन्द्रमा राखेर कार्यक्रमहरू तय गरिएका छन्। विद्यार्थीदेखि बृद्धबृद्धासम्मलाई समेट्ने गरी धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू सञ्चालन गरिने भएको हो । महायज्ञबाट संकलित रकम आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिरलाई पूर्णता दिन, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष विस्तारमा खर्च गरिने लक्ष्य राखिएको आश्रमका अध्यक्ष  अधिकारीले जानकारी दिनुभएको छ ।

हेम्जास्थित भवन निर्माणमा हालसम्म करिब आठ करोड रुपैयाँ खर्च भइसकेको छ भने कार्य सम्पन्न गर्न थप दुई करोड आवश्यक रहेको जनाइएको छ। आश्रितको संख्या बढ्दै जाँदा सेवा विस्तारका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले महायज्ञलाई प्रमुख आधारका रूपमा अघि सारिएको आश्रमको भनाइ छ।

महायज्ञ सफल बनाउन एक हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। संयोजकमा अनिलकुमार साही, सहसंयोजकमा धर्मराज बास्तोला र प्रचारप्रसार संयोजकमा सुस्मा पौडेल रहनुभएको छ ।

आश्रमले सर्वसाधारण, दाताहरू तथा सरोकारवालालाई महायज्ञमा सहभागी भई सहयोग गर्न आग्रह गरेको छ।

Comments
Loading...