गण्डकीका सामाजिक विकासमन्त्रीलाई ज्येष्ठ नागरिक सञ्जालको ध्यानाकर्षण

हिमाली आवाज । ज्येष्ठ नागरिक सञ्जाल नेपालले आज गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङलाई आज ज्येष्ठ नागरिकका हकहितलाई लक्षित गरी आज ध्यानाकर्षणपत्र बुझाएको छ ।
ज्येष्ठ नागरिक सञ्जाल, नेपालका अध्यक्ष कुसुम केशव पराजुलीले उक्त ज्ञापन पत्र सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
ज्ञापनपत्रमा बिभिन्न कारणले १५ बर्षदेखि हालसम्म नागरिकता बिहिन जीवन बिताउन बाध्य भएका, असहाय, बेवारिसे, अशक्त र अपाङ्गता भएका ज्येष्ठ नागरिकहरुको नागरिकता, राष्ट्रिय परिचय पत्र र सामाजिक सुरक्षा भत्ताको ब्यवस्था तत्काल गर्न माग गरिएको छ ।
प्रदेश÷जिल्ला भित्रका ज्येष्ठ नागरिकहरु लाई पालिका÷वडास्तरीय तालिम प्राप्त प्राबिधिक, थेरापी, मनोपरामर्श सेवा एकीकृत जेरियाट्रीक स्वास्थ्य केन्द्रबाट संचालन गर्ने प्रबन्ध थालनी गराउनुपर्ने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रहरुमा स्वयमसेवी ब्यक्तिको लागि संख्याको आधारमा कम्तीमा बर्षको एक पटक पालिका÷जिल्ला वा प्रदेश स्तरीय तिर्थाटन लैजाने स्थानीय सरकार वा निजी क्षेत्रका ज्येष्ठ नागरिक स्याहारगृह लाई अनिवार्य ब्यवस्था गर्न लगाउनुपर्ने मागपत्रमा भनिएको छ ।
विशेषतःजीवनको उत्तरार्धमा देखा पर्ने बिस्मृति रोग (अल्जाईमर, डिमेन्सीया) को पहिचान गरी त्यस लाई न्युनिकरण गर्न, जनचेतना जगाउने कार्य गर्ने, उपचारका लागि सम्भव भएसम्म प्रदेशस्तरीय बिज्ञहरुको परामर्श सेवा थालेर हरेक जिल्लामा कम्तीमा एउटा अल्जाईमर स्क्रिनिङ्ग टेष्ट कार्यक्रमका लागि घुम्ती टोली खटाउन सञ्जालले माग गरेको छ ।
घरपरिवार छोराछोरी नभएका, नगद, सम्पत्ती नभएका असहाय, अशक्त, अपाङ्गता भएका स्वयमसेवी संस्थाले हेरचाह, स्याहारसुसार एवम उपचार गराउँदै आएका ब्यक्तिहरुको जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै सञ्जालले निजहरुको जीविकोपार्जन र औषधि उपचारको लागि बजेट बिनियोजन गर्न माग गरेको छ ।
ज्येष्ठ नागरिक हेरचाह केन्द्र वा दिवासेवाका नाममा समुदाय र निजीक्षेत्रबाट समेत हुने ब्यापार बन्द गर्ने, समुदाय वा निजी क्षेत्रमा हुने अनियमितता, भ्रष्टाचार वा अनियन्त्रित कमाउ धन्दा एबम सेवा र औषधि खरिदका नाममा पेशागत बिचौलियाको धन्दालाई नियन्त्रण गर्नुपर्ने, ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत स्थानीय तहका संघसंस्थालाई सक्रिय बनाएर सो सम्बन्धी तालिम प्रशिक्षण प्रदान गर्दै घरपरिवार, युवा–बिद्यार्थीहरुलाई ज्येष्ठ नागरिकमा भएको “ज्ञान, शिप र अनुभव लाई पुस्ताहस्तान्तरण” कार्यक्रम संचालन गर्न समुदाय र स्थानीय तहलाई प्रेरित गर्नुपर्ने माग गरिएको छ ।
सक्रिय एवम स्वास्थ्य ज्येष्ठ नागरिक र गृहिणी महिलालाई घरपरिवारमा रोजगार सृजना गर्न तालिम दिएर उत्पादनमुलक कार्यक्रम गर्न प्रोत्साहन गर्न यसको लागि आवश्यक सबै प्रबन्ध गर्न सरकारले नीति, कार्यबिधि एवम कार्यक्रम ल्याउनुपर्ने, ज्येष्ठ नागरिक मैत्री पुर्वाधार सम्पन्न ज्येष्ठ नागरिक स्याहारगृह वा दिवासेवा केन्द्रमा आवासीय वा आँसिक स्याहार सम्बन्धी तालिम प्रदान गर्नुपर्ने उल्लेख गर्दै सञ्जालले घरपरिवार, समुदायमा आधारित स्वदेश वा बिदेशमा स्याहारकर्ताको उत्पादन गरी रोजगारी प्रदान गर्न सकिने जनाएको छ ।
ज्येष्ठ नागरिकका नाममा खुलेका अबैध संचालन हुँदै आएका संघसंस्था वा महसंघमा भए गरेका अनियमितता, भ्रष्टाचार र ठगी उपर नियन्त्रण गर्नुुपर्ने बताउँदै सञ्जालले भ्रष्टाचार भएमा सरकारी वा न्याय निरुपण निकायले गलत क्रियाकलाप ठहराएमा सम्बन्धीत ब्यक्तिलाई कानुनी दायरामा ल्याएर दण्डित गर्नुपर्ने भनेको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले उठाइएका मागका सम्बन्धमा आँफू सकारात्मक भएको बताउँदै यसको कार्यान्वयनका लागि सक्दो प्रयास गर्ने बताउनुुभयो ।
कार्यक्रममा गण्डकी ज्येष्ठ नागरिक संघका उपाध्यक्ष धर्मबहादुर गुरुङ्ग, अधिवक्ता गीता लामिछाने, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष टोपराज ढुङ्गाना, ज्येष्ठ नागरिक संघका सचिव भीमप्रसाद चुवाई, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका बिश्वनाथ पराजुली, लोकनाथ ढकाल र कल्पना पराजुली लगायतको उपस्थिति थियो ।

Comments
Loading...