गरिव जनताको झुपडीमा डोजर चल्न दिँदैनौ : अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिले सरकारले सुकुम्वासी बस्तीमा विना विकल्प डोजर चलाए प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

पोखरामा आज महासंघले पत्रकार सम्मेलन गरी सुकुम्वासीलाई वैकल्पिक व्यवस्था गरेर मात्र अतिक्रमित संरचना हटाउन माग गरेको हो ।

महासंघका अध्यक्ष रुद्र गौतमले बर्तमान सरकारबाट श्रमिकहरुको आधारभुत आवश्यकता पूरा गर्ने आशा गरिए पनि सरकारले श्रमिकहरुको दैनिक जीवन सहज बनाउनुको सट्टा उल्टै सुकुम्वासी हटाउने नाममा गरीब जनताको घर टहरामा डोजर लगाउन र जनतालाई सडकमा मर्न बाध्य पारेको बताउनुभयो ।

“देशैभरी डोजर आतंक सिर्जना गर्ने जस्तो अमानवीय कार्यको हामी घोर भत्र्सना गर्दछौँ । घरबार विहिन जनताको पुर्नवासको व्यवस्था गर्न तथा वैकल्पिक व्यवस्था नगरी जनताको घर टहरा भत्काउने कार्य रोक्छौँ । जनताको झुपडीमा डोजर चल्न दिँदैनौँ ।” अध्यक्ष गौतमले भन्नुभयो ।

महासंघले पोखराका बसर्पाकका लागि छुट्टाइएको २ सय ५ रोपनी जमिनमै बसपार्क बन्नुपर्ने बताएको छ । विगतमा पहुँचको आधारमा बसपार्कको जग्गा विक्रीवितरण गरिएको भन्दै महासंघले बसपार्क छु्टाइएको पूरै जग्गामा बनाउन माग गरेको हो । “बसपार्कका लागि छुट्टाइएको जमिन अधिकाँस बेचिएको छ, भाडामा लगाइएको छ । तर जहिलेपनि गरीबलाई तर्साउने मात्र काम सरकारले गरेको छ । ” मजदुर नेता गौतमले भन्नुभयो ।
कार्यक्रममा मजदुर नेता भोजराज खत्री, गुणराज बास्तोला लगायतले पोखरा बसपार्कका ४०० घर परिवारको व्यवस्थापन पहिला हुनुपर्ने माग गर्नुभयो ।

Comments
Loading...