हिमाली आवाज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला(सरोज) विजयी हुनुभएको छ ।
पोखरामा यही वैशाख २७ गतेदेखी सुरु भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानमा सिटौलाले एक हजार ३० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रत्याशी हरिशरण केसीले चार सय ६४ मत ल्याउनुभयो ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति,एनकुमार साइ र केदार पौडेल विजयी हुनुभयो । प्रजापतिले आठ सय २६, साइले सात सय ४९ र पौडेलले पाँच सय ७९ मत सहित निर्वाचित हुनुभएको हो । वरिष्ठ उपाध्यक्षमा निर्वाचत साइ र पौडेल पोखराका स्थापित यातायात व्यवसायी हुनुहुन्छ । साइ पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्ष हुनुहुन्छ भने पौडेल स्थानीय यातायात प्रालिको अध्यक्ष हुनुहुन्छ ।
यसैगरी उपाध्यक्षहरुमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा,कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी हुनुभयो । सात जना उपाध्यक्षका लागि १३ जनाले प्रतिस्पर्धा गरेका थिए ।
महासंघको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी हुनुभयो । महासचिवमा डेकनाथ गौतम विजयी हुनुभयो ।
यसैगरी उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी हुनुभयो । सचिवमा उमेश केसी, चेतप्रसाद गौतम(अर्जुन) र टंकप्रसाद बस्याल निर्वाचित हुनुभयो ।
कोषाध्यक्षमा राजेन्द्र आचार्य सात सय १६ मत ल्याएर विजयी हुनुभयो । सहकोषाध्यक्षमा शोभाखर पौडेल विजयी हुनुभयो ।
महासंघको खुला केन्द्रीय सदस्य पदमा समिक्षा गुरुङ, अर्जुन श्रेष्ठ,गोपाल कार्की,दीपक बोहरा,अशोक कुमार चौधरी, प्रकाश तिवारी,कृष्णप्रसाद सुवेदी,गणेशराज पाण्डे,पदमराज सापकोटा,गणेशबहादुर गुरुङ,हरिभक्त श्रेष्ठ, टेकेन्द्र राई,भुपेन्द्र खड्का र हेमराज दाहाल विजयी हुनुभएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । महाधिबेशनबाट कूल ७८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।
नवनिर्वाचित अध्यक्ष सिटौलाले नेपालको सार्वजनिक यातायात सुधारका लागि सरकारसँग मिलेर काम गर्ने बताउनुभयो । “यातायात क्षेत्रमा धेरै समस्या छन् । नयाँ सरकार बनेको छ । हामी सरकारसँग मिलेर यस क्षेत्रको सुधारका लागि काम गर्नेछौँ । ” सिटौलाले भन्नुभयो ।
महाधिवेशनमा देशभरमा सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारीबाट गरी दुई हजार जना महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता रहेको छ ।