पृथ्वी होटल व्यवसायी समिति मध्यपहाडी लोकमार्गको पर्यटन प्रवद्र्धनमा

हिमाली आवाज । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पृथ्वी होटल व्यवसायी समिति पोखरा ले “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” भन्ने मूल नाराका साथ मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।

समितिले मध्यपहाडी लोकमार्गसँग जोडिएका विभिन्न जिल्लामा पुगेर पर्यटन व्यवसायी, स्थानीय तह, सरोकारवाला निकाय तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने भएको छ।आन्तरिक पर्यटकको आवागमन बढाउने, स्थानीय होटल व्यवसायलाई चलायमान बनाउने तथा सांस्कृतिक एवं पर्यटकीय सम्पदाको प्रचार–प्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ।

कार्यक्रमका लागि २६ सदस्यीय टोली शुक्रवार बिहान बाग्लुङ तर्फ प्रस्थान गरेको छ। टोलीले लोकमार्ग आसपासका पर्यटकीय गन्तव्य, स्थानीय संस्कृति, खानपान र होटल व्यवसायको प्रवद्र्धनमा केन्द्रित गतिविधि सञ्चालन गर्ने बताइएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय का प्रमुख मणिराज लामिछानेले यस्ता कार्यक्रमले आन्तरिक पर्यटनलाई थप चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पोखरालाई केन्द्र बनाएर सञ्चालन गरिने पर्यटन प्रवद्र्धन अभियानले प्रदेशका अन्य जिल्लासमेत लाभान्वित हुने उल्लेख गर्नुभयो ।

कार्यक्रमअन्तर्गत पर्यटन क्षेत्रको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणका विषयमा विशेष छलफल गरिने आयोजकले जनाएको छ।

समितिका अध्यक्ष मोतीप्रसाद श्रेष्ठले मध्यपहाडी लोकमार्ग क्षेत्र प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले अत्यन्त सम्भावनायुक्त रहेकाले यस्ता कार्यक्रमले ओझेलमा परेका गन्तव्यलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य बढाएर पर्यटन क्षेत्रलाई थप सशक्त बनाउने लक्ष्य रहेको बताउनुभयो ।

Comments
Loading...