मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

हिमाली आवाज । कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा एक जना स्वदेशी पर्यटक बेपत्ता भएका छन् ।

काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो मर्दी पदयात्राका क्रममा यही वैशाख ३० गते दिउँसो २ बजेदेखी सम्पर्क विहिन भएको माछापुच्छ«े–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री(राजेन्द्र)ले जानकारी दिनुभयो ।

समुद्री सतहबाट चार हजार दुई सय मिटर उचाइमा अवस्थित मर्दीको भ्यूपोइन्टस्थित ‘टीसप’मा आफ्नो झोला राखेर ‘केही बेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दैै’ निस्किनुभएका पर्यटक भिक्षु साँझसम्म नफर्किएपछि मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा स्थानीय पर्यटन व्यवसायीले बिहीबार विहानदेखीनै खोजी सुरु गरेका थिए । तर शुक्रबार साँझसम्म सम्पर्कविहिन पर्यटकको बारेमा कुनै जानकारी नपाइएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो ।

“पहिरनका आधारमा पोखरास्थित बुद्धविहारमा जानकारी गराएपछि हराएका व्यक्तिको परिचय खुलेको हो । स्थानीयले बिहीबार दिनभर खोजी गर्दा समेत फेला नपरेपछि प्रहरीमा जानकारी गराएका थियौँ ।अहिले प्रहरी हराएको ठाउँमा जाँदैछ ।” वडाध्यक्ष क्षेत्रीले भन्नुभयो ।

मर्दीको आधारशिविर र भ्यूपोइन्ट क्षेत्रमा केहीदिनदेखी पानी परेको र बाक्लो हिमपातका कारणले समेत खोजीमा कठिनाइ भएको बताइन्छ ।

पर्यटक हराएको सूचनापछि प्रहरी खोजीका लागि गएको छ । खोजीमा गएको प्रहरी टोली शुक्रबार साँझ हाइक्याम्प पुगेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले बताउनुभयो । “हामीले हिजो दिनभर खोजी गरेका थियौ, भेट्टाउन सकेनौँ, भोली विहान ३ बजे सुरक्षाकर्मी सहित हाम्रो १४जनाको टोली भ्यूपोइन्ट हुँदै आधारशिविरसम्म खोजीका लागि जानेछौँ । ” अध्यक्ष तामाङले भन्नुभयो ।

मर्दी पदयात्राका क्रममा यसअघि पनि पर्यटकहरु हराउने गरेका थिए । एकल पदयात्रामा जानेहरु बढी हराउने गरेको पर्यटन व्यवसायी बताउँछन् । मर्दीको हाइक्याम्प, भ्यूपोइन्ट र आधाशिविरबाट बढी पर्यटक हराउने गरेका छन् ।

Comments
Loading...