हिमाली आवाज । पोखरा पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
शनिबार विद्यालयमा आयोजित कार्यक्रममा एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान र बधाई दिँदै पुरस्कृतसमेत गरिएको हो । ४ जिपिए ल्याएका दुई विद्यार्थी रोनिश खत्री र सक्षम पौडेललाई जनही ३५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
विद्यालयले दुवै विद्यार्थीको उपलब्धिले विद्यालयसँगै समग्र पोखराकै शैक्षिक प्रतिष्ठा उँचो बनाएको भन्दै पुरस्कृत गरेको हो । उत्तीर्ण सबै विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
पोखरा पब्लिकबाट यस वर्ष एसइईमा सहभागी ६४ जना विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा अध्यक्षता गरेका वसन्तप्रसाद पराजुलीले विद्यालयको निरन्तर शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा ध्यान दिइएको उल्लेख गरे ।
विद्यालयका प्रधानाध्यापक कृष्ण केसीले विद्यार्थीहरूको सफलताको श्रेय मेहनती विद्यार्थी, समर्पित शिक्षक र निरन्तर सहयोग गर्ने अभिभावकलाई दिँदै सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
‘हाम्रो उद्देश्य केवल परीक्षा उत्तीर्ण गराउनु मात्र होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नु पनि हो । अहिलेको एसइई नतिजा र विगतका उपलब्धिले त्यसलाई पुष्टि गरेको छ,’ उनले भने । उनले जीवनलाई निरन्तर परीक्षाको रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई संयमित भएर अघि बढ्न सुझाव दिए । ‘परीक्षाको मात्र होइन, जीवनका सबै परीक्षामा सफल हुनुपर्छ,’ उनले भने ।
प्रधानाध्यापक केसीले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको जानकारी दिए ।
कार्यक्रममा पूर्व विद्यार्थी तथा महिला रोग विशेषज्ञ डा. अनुपमा कार्की र एमबिबिएस अध्ययनरत प्रेरणा श्रेष्ठले सफलताका लागि निरन्तर मेहनत र अनुशासन अपरिहार्य हुने बताए ।
विद्यालयका सल्लाहकार रवि बरालले विद्यालयले राम्रो शैक्षिक इन्डेक्स तयार पारेको उल्लेख गरे । उनले विद्यार्थीहरूलाई आफ्नो क्षमता (एबिलिटी) विकास गर्दै जिम्मेवार र सम्मानजनक ढंगले उच्च अध्ययन पूरा गर्न सुझाव दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेम आचार्यले अहिलेको पुस्ताले पढाइसँगै व्यवहारिक ज्ञानमा पनि ध्यान दिनुपर्ने बताए । उनले विद्यार्थीहरूलाई घरायसी सामान्य काममा पनि सहभागी हुन आग्रह गर्दै अभिभावकलाई त्यसका लागि प्रेरित गर्नुपर्ने धारणा राखे ।
विद्यालय २०५१ साल पुस ११ गते स्थापना भएको हो । प्रधानाध्यापक कृष्ण केसी संस्थापक समेत हुन् । विद्यालयले २०५६ सालमा तत्कालीन एसएलसी परीक्षामा पहिलो पटक विद्यार्थी सहभागी गराएको थियो, जसमा ९ जना विद्यार्थी सहभागी भएका केसीले जानकारी दिए ।
समयक्रमसँगै विद्यालयको शैक्षिक विस्तार हुँदै गएको र हाल विद्यालयमा हजारौं विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक केसीले जानकारी दिए । विद्यालयले २०७२ सालमा कास्की जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको पनि जनाएको छ ।
कार्यक्रमको सञ्चालन विद्यालयका नेपाली प्राध्यापक मोतिसागर त्रिपाठीले गरेका थिए । सम्मान कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो ।