हिमाली आवाज । मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको भ्यूपोइन्टबाट गत वैशाख ३० गतेदेखी हराएका एक पर्यटक आज मृत फेला परेका छन् । हराएका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको थियो ।
सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायी सहितको टोली खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्यूपोइन्टस्थित ठूलो पहाडमुनि खोँचमा शव फेला पारेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा उद्धार टोली खोज्दै जाँदा भीरबाट धेरै तल कपडा देखेपछि तीन घण्टा लगाएर तल झरेको थियो ।
अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकिएको बताउनुभयो । “अप्ठ्यारो भूगोलका कारणले मानिसले बोकेर माथि ल्याउन सकिने अवस्था छैन । हेलिकप्टरबाट उद्धारका लागि प्रशासन, प्रहरी र गाउँपालिकालाई जानकारी गराएका थियौँ । चार घण्टासम्म कुर्दा समेत हेलिकप्टर नआएपछि हामी पुनः हाइक्याम्प फर्किएका छौँ ।” तामाङले भन्नुभयो ।
मर्दीको लोक्याम्पमा बास बसेर भोलीपल्ट समुद्री सतहबाट चार हजार दुई सय मिटर उचाइमा अवस्थित मर्दीको भ्यूपोइन्ट पुगेका उनी ‘टीसप’मा आफ्नो झोला राखेर ‘केही बेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दैै’ निस्किनुभएका थिए ।
भिक्षु साँझसम्म नफर्किएपछि भोलिपल्ट स्थानीयले खोजी गरेका थिए । दुई दिनसम्म खोजी गर्दा पनि हराएका व्यक्ति फेला परेका थिएनन् । शनिबार सुरक्षाकर्मी पुगेपछि स्थानीयसहितले पुनः खोजी अघि बढाएका थिए ।