हिमाली आवाज । तेह्र वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) युआरएल ग्रुपमा रुपान्तर भएको छ । युआरएलको शुक्रबार भएको विशेष साधारणसभा तथा अधिवेशनले यसका २१ शाखालाई युआरएल ग्रुपमा रुपान्तरण गर्दै नयाँ नेतृत्वसमेत चुनेको हो ।
अधिवेशनले ठाकुरप्रसाद पन्थको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । ग्रुपको सचिव एवम् प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइराला र बोर्ड डाइरेक्टरहरुमा बालकृष्ण शर्मा, गीता कार्की पन्थ, डा कृष्णराज अधिकारी, डा वसन्त पगेनी र पुष्पराज कोइराला हुनुहुन्छ ।
साधारणसभाले संस्था सञ्चालनको नयाँ कार्यविधि पारित गर्नुका साथै तीन उपसमिति बनाउने निर्णय पनि गरेको छ । युआरएलमा अब लेखा तथा खरिद उपसमिति, व्यापार प्रवर्धन उपसमिति र गुणस्तर नियन्त्रण उपसमिति बन्ने छन् । युआरएल ग्रुपका अध्यक्ष पन्थले गण्डकीकै पहिलो रेफरेन्स ल्याब युआरएललाई थप सशक्त तवरले अघि बढाइने बताउनुभयो ।
‘काठमाडौं बाहिरको पहिलो रेफरेन्स ल्याब युआरएलले ग्रुपअन्तर्गत २१ शाखा र तीन ब्रान्ड नामसहित २४ स्थानबाट सेवा दिइरहेको छ,’ उहाँले भन्नुभयोे, ‘चाँडै कम्प्लिट डायग्नोस्टिक सेन्टर बनाउने दिशामा छौं ।’ कार्यक्रममा प्रबन्ध निर्देशक कोइरालाले नयाँ प्रविधि, दक्ष जनशक्ति र सर्वसाधारणको आवश्यकता बमोजिमको सेवा प्रदान गरी युआरएलले अझ सशक्त तवरले सेवा प्रवाह गर्ने प्रण गर्नुभयो ।
युआरएल ग्रुपमा अहिले ५१ सेयर सदस्य छन् । ६० प्रतिशतभन्दा बढी आफैं आउने अर्थात् वाकिङ प्यासेन्ट भएको युआरएलमा अहिले प्राविधिक र गैरप्राविधिक गरी १ सय ५० भन्दा बढी कर्मचारी छन् । युआरएलले २०७२ सालबाट विभिन्न रोगका विशेषज्ञको सचेतनासहितको निशुल्क शिविर गर्दै आएको छ । अहिलेसम्म कास्की र आसपासमा जिल्लामा विभिन्न सामाजिक र स्वास्थ्य संस्थासँगको सहकार्यमा २ सय २४ वटा शिविरमार्फत् २ लाख ८० हजारले सित्तैमा सेवा लिएका छन् । युआरएलले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा राष्ट्रिय स्वास्थ्य पुरस्कारसमेत प्रदान गर्दै आएको छ ।
Comments