हिमाली आवाज । गत बर्षको उपविजेता एल.पी. देवकोटा मेमोरियल बोर्डिङ स्कुललाई फाइनल खेलमा पराजित गर्दै पोखरा १७ मा रहेको बालोदय बोर्डिङ स्कुलले पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा आज(आइतबार) भएको फाइनल खेलमा बालोदयले पार्दीको एल.पी. देवकोटा मेमोरियल बोर्डिङ स्कुललाई ३—० को गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
बालोदयको जितमा निसान भुजेलले २ र आयुष थापा मगरले एक गोलको योगदान दिनुभयो । भुजेलले खेलको २६ र ४५ मिनेटमा तथा मगरले भने खेलको २८ औं मिनेटमा गोल गर्नु भएको हो । खेलमा बालोदयका रिदम थारु म्यान अफ दी म्याच घोषित हुनु भयो । पाएका केही अवसर सदुपयोग गर्न नसक्दा एलपी देवकोटाले यस बर्ष पनि उपविजेतामै सिमित हुनु पर्यो ।
प्रतियोगितामा ढुङ्गेसाँघु बोर्डिङ स्कुल तेश्रो भएको छ । तेश्रो स्थानको लागि आइतबार भएको खेलमा ढुङ्गेसाँघु बोर्डिङ स्कुलले स्पाइरल ग्यालेक्सी स्कुललाई २—० ले पराजित गर्दै तेश्रो भएको हो । ढुङ्गेसाँघुको जितमा सुवास बि.क. र साहिन कुमालले एक÷एक गोलको योगदान दिनुभयो । खेलमा साहिल कुमाल म्यान अफ दी म्याच घोषित हुनुभयो । पोखरा १७ का १९ वटा नीजि तथा सामुदायिक बिद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा जानकी मावि अनुशासित टिम घोषित भएको म्याच कमिस्नर गोपाल थापाले बताउनु भयो । प्रतियोगितामा वालोदयका निसान भुजेल उत्कृष्ट खेलाडी घोषित हुनु भयो । उहाँले प्रतियोगितामा १० गोल गरी सर्वाधिक गोलकर्ताको अर्को उपाधि पनि हात पार्न सफल हुनु भएको हो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा वालोदयका प्रदिवस ठकुरी, उत्कृष्ट डिफेण्डरमा एलपी देवकोटाका मिलन थारु, उत्कृष्ट मिड फिल्डरमा वालोदयका विक्लेस बुद्ध थापा घोषित हुनु भयो ।
विजयी खेलाडीहरुलाई पोखरा महानगरपालिकाका उप—मेयर मन्जुदेवी गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष राधिका कुमारी शाही योगी, पोखरा १७ का वडा सदस्य एवं खेल संयोजक बिक्रम गुरुङ, सहारा क्लवका निवर्तमान अध्यक्ष केशवराज बराल, क्लवका अध्यक्ष रमेश प्रसाद बराल, खेल संयोजक बिकास रानाभाट लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक विकास रानाभाटले बताउनु भयो ।
ड्यामसाइड क्लबको आयोजनामा जेठ १२ गतेदेखि प्रतियोगिता सञ्चालन भएकोे हो । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा प्रतियोगिता संचालन भएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । फुटवल खेलको तल्लोलेवल(ग्रासरुट) बाटै विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगितालाई क्लवले निरन्तर रुपमा आयोजना गर्दै आएको क्लवका महासचिव राकेश श्रेष्ठले बताउनु भयो । पोखरा १७ वडा कार्यालयको साप्ताहिक खेलकुद महोत्सव अन्र्तगत उक्त फुटवल प्रतियोगिता भएको हो ।
