भौतिकमन्त्री लम्सालद्धारा पोखरा सेती पुलको निरीक्षण

हिमाली आवाज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको आज निरीक्षण गर्नुभएको छ ।
मुग्लिन –पोखरा सडक आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन सो पुलको मन्त्री लम्सालले हालसम्म प्रगति, समस्याका बारेमा जानकारी लिनुभएको थियो ।
मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँबरले मन्त्री लम्साललाई कामका प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो
सो अवसरमा मन्त्री लम्सालले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, आयोजना प्रमुख कुँबर, निर्माण कम्पनी, परामर्शदाता लगायतसँग पुल निर्माणमा विलम्व नगर्न र समस्या भए समाधान गरेर अघि बढ्न निर्देशन दिनुभएको थियो ।

सो अवसरमा मन्त्री लम्सालले थप गरिएको म्याद आगामी फागुन २१ गतेभित्रै काम सम्पन्न गर्न निर्देशन समेत दिनुभएको थियो । “काममा केही समस्या भए जानकारी गराउनु, पूर्वाधार निर्माण तोकिएको समयमै सकिनुपर्दछ । ढिला सुस्ती हुनुहुँदैन । अब तोकिएको समयभित्रमै काम गर्नुहोला । ” मन्त्री लम्सालको निर्देशन थियो । मन्त्री लम्सालसँगै अनुगमनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेल(गणेश), प्रजिअ शर्मा, जिल्ला प्रहरी प्रमुख नविन कार्की लगायतको सहभागिता थियो ।

सेती नदीको उत्तर साइडमा कारवास लगायतका जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एशियाली विकास बैँकको नीति अनुसार सडक पहुँच दिनुपर्ने कारणले दुई वटा घर भत्काउनु परेको र यसको क्षतिपूर्ति दिनुपर्ने लगायतका विषयमा सहमति नहुँदा पुल निर्माणमा ढिलाई भएको आयोजना प्रमुख कुँबरले जानकारी गराउनुभएको थियो ।
आयोजना प्रमुख कुँबरले क्षतिपूर्तिको विषय प्रशासनबाट टुङ्गो लागिसकेकाले काममा अब ढिलाई नहुने बताउनुभयो । आयोजना प्रमुख कुँबरले हालसम्म सेती पुलको ६० प्रतिशत भौतिक प्रगति र वित्तिय प्रगति ५५ प्रतिशत भएको जानकारी गराउनुभएको थियो ।

Comments
Loading...