शान्ति निकेतनमा विद्यार्थीलाई स्वागत र अभिमुखीकरण

हिमाली आवाज । पोखराको शान्ति निकेतन स्कुलले कक्षा ११ मा पठनपाठन सुरू गरेको छ । यसै शैक्षिक सत्रदेखि विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन सुरु गरेको हो । पोखरा–५, पस्र्याङमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गरेको शान्ति निकेतनमा पहिलो वर्ष नै १२० जना विद्यार्थी भर्ना भएका छन् ।

विज्ञान संकायतर्फ ८० जना र व्यवस्थापनतर्फ ४० जना सीट छुट्याइएकोमा लक्ष्य अनुरुप उच्चतम् ४ जीपीए प्राप्त गरेकासहित स्तरीय विद्यार्थी भर्ना भएको संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले जानकारी दिनुभयो । विज्ञान विषय प्रातः र दिवा तथा व्यवस्थापनका कक्षा दिवा सत्रमा हुने गरी व्यवस्थापन मिलाइएको स्कुलले जनाएको छ । निकट भविष्यमै मानविकी लगायतका संकाय थप गरिने योजना बनाएको छ ।

स्कुलले नवआगन्तुक विद्यार्थीलाई सपथ खुवाउँदै स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा.डा. भरत बहादुर खत्रीले विद्यार्थीका लागि इमान्दारिता र मेहनत अपरिहार्य रहेको बताउनुभयो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत सोम भण्डारीले शान्ति निकेतन स्कुलको गतिविधिलाई नजिकबाट नियालिरहेको बताउँदै पोखराभित्रका विद्यालयमध्ये उत्कृष्ट नतिजाका कारण अग्रणी स्थानमा रहेको बताउनुभयो ।

स्कुलका बोर्ड अफ डाइरेक्टर किरण सापकोटाले शान्ति निकेतनको गरिमालाई अझै प्रतिष्ठित बनाउने गरी मेहनत गर्न विद्यार्थीलाई उत्प्रेरित गर्नुभयो । ‘पहिलो ब्याचका विद्यार्थी बन्नु सौभाग्यशाली क्षण हो । विद्यार्थीले यो दुई वर्ष निकै मेहनत गरेर पढाईमा ध्यान दिनुपर्नेछ ।’ सापकोटाले भन्नुभयो,‘सपनाको विजारोपण गरेको पहिलो वर्ष नै यति धेरै माया, विश्वासका साथ अभिभावकहरूले छोराछोरी पठाउनुभएको छ । विद्यार्थीले शान्ति निकेतन रोजाईमा पारेका छन् । यो खुशीको विषय हो ।’

गण्डकी बोर्डिङ स्कुलका पूर्व प्राचार्य रबि बरालले शान्ति निकेतन स्कुलले पोखराको शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएको उल्लेख गर्दै शैक्षिक प्रगतिको कामना गर्नुभयो ।

अभिभावकका तर्फबाट डिज्नील्याण्ड स्कुलका संस्थापक प्राचार्य नरेशप्रसाद बरालले प्रत्येक वर्ष एसइईको नतिजाले अब्बल शैक्षिक संस्थाका रुपमा आफूलाई उभ्याएको हुनाले नै आगामी दिनमा उस्तै नतिजाको अपेक्षाका साथ आफ्नी छोरीलाई शान्ति निकेतनमा भर्ना गरेको बताउनुभयो ।

शान्ति निकेतन स्कुलबाटै उच्चतम् ४ जीपीए ल्याएर स्कुललाई निरन्तरता दिएका सखिम भण्डारीले विद्यालयको शैक्षिक वातावरण, शिक्षकको माया र प्रेरणा तथा अब झनै सुविधासम्पन्न भौतिक संरचनाका कारण स्कुल छाड्न नसकेको बताउनुभयो ।

नव आगन्तुक विद्यार्थीका तर्फबाट खुशी अधिकारीले पहिलो ब्याचका रुपमा भर्ना हुन पाउँदा खुशी लागेको बताउँदै कडा मेहनतका साथ अध्ययन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहप्राचार्य यदुविलास भुत्र्यालले स्वागत र परीक्षा विभाग प्रमुख हेम सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभयो ।

यस्तै, अहिलेकी चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारले शान्ति निकेतनका नवआगन्तुक विद्यार्थीलाई भरपूर मनोरञ्जन पदान गर्नुभयो ।

Comments
Loading...