हिमाली आवाज । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पूर्वाधार विकास, धार्मिक तथा साहसिक पर्यटन प्रवद्र्धन, नयाँ पर्यटकीय गन्तव्यको विकास र अन्तर्राष्ट्रिय पर्यटक आगमन वृद्धि गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
आर्थिक मामिला मन्त्री जितप्रसाद शेरचनले आज प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा प्रमुख पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार विकास, पदमार्ग निर्माण तथा स्तरोन्नति, पर्यटनमैत्री सेवा विस्तार र पर्यटनसँग स्थानीय कला, संस्कृति तथा उत्पादनलाई जोड्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । सरकारले आगामी वर्ष उद्योग तथा पर्यटनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरेको छ ।
सरकारले बजेटमा “पहिला घरदेशः अनि परदेश” तथा “लेक टु लेक” कार्यक्रमलाई निरन्तरता दिँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिएको छ।
बजेटमा प्रदेश सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। “गण्डकी जाऔं ः प्रकृति र संस्कृतिसँग रमाऔं” अभियानलाई थप सुदृढ बनाउँदै पोखरालाई स्वास्थ्य, खेलकुद तथा साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने जनाइएको छ।
धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न दामोदर कुण्ड–मुक्तिनाथ–गलेश्वर–पञ्चकोट–रिडी–रामदी–केलादिघाट–देवघाट–त्रिवेणीधाम जोड्ने ‘धार्मिक पर्यटन परिपथ’ निर्माणलाई प्राथमिकता दिइएको छ। उक्त परिपथसँग जोडिएका पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गरिने तथा मोदीबेनीधाम–पुर्कोट–भैरवस्थान धार्मिक पदमार्ग निर्माण कार्यलाई पनि अगाडि बढाइने बजेटमा उल्लेख छ।
साहसिक पर्यटनअन्तर्गत मनास्लु, अन्नपूर्ण, धौलागिरी र ढोरपाटन चक्रीय पदमार्गको स्तरोन्नति, वैकल्पिक मार्गको पहिचान तथा प्रवद्र्धन गरिनेछ। ढोरपाटन क्षेत्रमा बुकी संरक्षण र जलाशय निर्माणमार्फत आन्तरिक पर्यटनलाई थप आकर्षक बनाउने योजना सरकारले अघि सारेको छ।
पोखराको पर्यटन विकासका लागि ‘राउण्ड फेवा ः भ्यू फेवा’ कार्यक्रमलाई निरन्तरता दिइएको छ। क्लोज सर्किट निर्माण सम्पन्न गर्ने, फेवा होराइजन पेडेस्ट्रियन (सेल्फी) ब्रिज तथा रुपातालमा सिसाको पुल निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा गरिएको छ। साथै फेवातालको मध्यवर्ती क्षेत्रको सौन्दर्यीकरणका लागि पोखरा महानगरपालिकासँगको साझेदारीमा पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ।
‘एक जिल्ला : एक पर्यटकीय गन्तव्य’ अवधारणालाई कार्यान्वयन गर्दै स्थानीय संस्कृति, होमस्टे, फार्म स्टे तथा रैथाने उत्पादनको ब्रान्डिङ र स्तरीकरण गरिनेछ। पर्यटकीय सूचना केन्द्र, पर्यटक प्रहरी तथा आपतकालीन उद्धार प्रणालीलाई थप सुदृढ बनाउँदै पर्यटक सुरक्षालाई प्रभावकारी बनाउने योजना पनि बजेटमा समेटिएको छ।
सरकारले आगामी पाँच वर्षभित्र अन्तर्राष्ट्रिय पर्यटक आगमन दोब्बर बनाउने लक्ष्य राखेको छ। यसका लागि पर्यटन पूर्वाधार निर्माण, प्रचार–प्रसार, हवाई पहुँच विस्तार तथा सीमापार पर्यटन प्रवद्र्धनमा विशेष जोड दिइने बजेटमा उल्लेख गरिएको छ।
