हिमाली आवाज । कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा पोखरामा सम्पन्न दुई दिने कास्की जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति आवासीय विद्यालय च्याम्पियन बनेको छ ।
प्रतियोगितामा सहिद स्मृतिले १४ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पारेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै एब्सोलुट तेक्वान्दो डोजाङ दोस्रो तथा हिमालयन टाइगर तेक्वान्दो डोजाङ तेस्रो भएको छ । शहीद स्मृतिले लगातार दोस्रो पटक उपाधि चुम्न सफल भयो । यसअघि गत वर्ष पनि शहीद स्मृतिले उपाधि उचालेको थियो ।
च्याम्पियन बनेको सहिद स्मृति विद्यालयकी प्रधानाध्यापक कल्पना चिलुवालले विद्यालयले खेलकुदतर्फ जहिलेपनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो । उहाँले विद्यायले तेक्वान्दोमा प्राप्त सफलता विद्यार्थी, शिक्षक तथा सबैको मेहनत र परिश्रम बापत हासिल भएको बताउनुभयो ।
दोस्रो स्थान हासिल गरेको एब्सोलुट तेक्वान्दो डोजाङले ४ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्यो भने तेस्रो बनेको हिमालयन टाइगर तेक्वान्दो डोजाङले २ स्वर्ण, ३ रजत र २ कांस्य पदक आफ्नो नाममा गर्न सफल भयो ।
प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीहरूले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए । प्रतियोगिताबाट उत्कृष्ट फाइटरतर्फ महिला ३५ केजीमुनि समूहमा सहिद स्मृति आवासीय तेक्वान्दो स्कुलकी निशा बि.क उत्कृष्ट घोषित भइन् । त्यसैगरी पुरुष ४८ केजीमुनि समूहमा हिमालयन टाइगर तेक्वान्दो डोजाङका साहस बुढा मगर उत्कृष्ट प्रतियोगी चुनिए ।
जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरूङले प्रतियोगिताले जिल्लामा तेक्वान्दो खेलको विकास तथा नयाँ प्रतिभाको पहिचान गर्न महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।
प्रतियोगितामा जिल्लाका विभिन्न ४२ डोजाङ तथा विद्यालयका ४२६ खेलाडीहरूको सहभागिता रहेको थियो ।
