राष्ट्रिय मुआथाई च्याम्पियनसिपमा जलनलाई स्वर्ण

हिमाली आवाज । पोखरामा सोमबार सम्पन्न दोस्रो संस्करणको २३ वर्षमूनिको राष्ट्रिय मुआथाई च्याम्पियनसिपमा लेखनाथ डोजो मुआथाई क्लबका जलन पुनले स्वर्ण पदक जितेका छन् ।

नेपाल राष्ट्रिय मुआथाई सङ्घको आयोजनामा पोखरा खेलकुद महोत्सवका अवसरमा राष्ट्रिय मुआथाई प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतियोगिताको सबैभन्दा आकर्षक प्रतिस्पर्धा यूथ १८–२३ वर्ष अन्तर्गत ६३–६५ केजी तौल समूहमा भएको थियो । यस प्रतिस्पर्धामा स्वर्ण जितेका जलनले रु २० हजार नगद पुरस्कार पाए ।
सोही समूहमा लेखनाथ डोजोका कुशल नेपाली द्वितीय बने र रु १० हजार पुरस्कार पाए । ओर्ला फिटनेस पोखराका सुमन जिसी र स्ट्रोङ्गेष्ट मुआथाई क्लब पोखराका विश्वास पौडेलले जनही रु पाँच हजार पुरस्कार पाउन सफल भएको आयोजक नेपाल राष्ट्रिय मुआथाई सङ्घका उपाध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिनुभयो ।
यसैगरी यूथ १४–१५ वर्ष ५०–५३ केजी तौल समूहमा स्ट्रोङ्गेष्ट मुआथाई क्लब वालिङका सुरेश सार्की प्रथम भए भने स्ट्रोङ्गेष्ट मुआथाई क्लब पोखराका राजन घर्ति मगर द्वितीय बने। निर्जल गुरुङ र साम्यूल श्रेष्ठले तृतीय स्थान हासिल गरे । यो समुहको प्रथमले रु १० हजार,द्वितीयले रु सात हजार र तृतीयले रु चार हजारा दरले नगद हात पारे ।
यूथ १६–१७ वर्ष ५३–५५ केजीमा आयुष ह्योल्मो प्रथम तथा करण तामाङ द्वितीय भए। प्रथमले रु १० हजार,द्वितीयले रु सात हजार नगद हात पारे । त्यस्तै ५७–६० केजी तौल समूहमा राहुल कार्की प्रथम, टेरेन्स थापा मगर द्वितीय तथा भास्कर गुरुङ र अभिषेक श्रेष्ठ तृतीय बने। प्रथमले रु २० हजार,द्वितीयले रु १० हजार र तृतीयले रु पाँच हजारका दरले नगद पुरस्कार पाउन सफल भए ।
महिला यूथ १६–१७ वर्ष ५०–५३ केजीमा जोरिना राई प्रथम तथा स्नेहा खत्री द्वितीय भइन्। प्रथमले रु १० हजार,द्वितीयले रु ७ हजार नगद हात पारे ।
यसैगरी यूथ १८–२३ वर्ष ५०–५३ केजीमा अञ्जन श्रेष्ठ प्रथम, मन्दिप क्षेत्री द्वितीय तथा प्रवेश कुलुङ राई र चिरञ्जिवी छन्त्याल तृतीय भए। प्रथमले रु १० हजार,द्वितीयले रु सात हजार र तृतीयले रु चार हजारका दरले नगद हात पारे ।

त्यसैगरी ५५–५७ केजी तौल समूहमा हेमन्त वोगटी प्रथम, दिप्सन गुरुङ द्वितीय तथा स्वदेश पौडेल र सोनम थापा तृतीय बने। प्रथमले रु १० हजार,द्वितीयले रु सात हजार र तृतीयले रु चार हजार नगद पुरस्कार पाए ।
प्रतियोगिताले नेपाली मुआथाई खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएो छ ।

Comments
Loading...