हिमाली आवाज । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा नतिजामा पोखराको सिमपानीस्थ्ति केफ माध्यमिक विद्यालयका विद्यार्थी निश्चल सुवेदीले ३.९६ जीपीए प्राप्त गर्दै नेपालकै उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ ।
विज्ञान संकायतर्फ अध्ययनरत सुवेदीले प्राप्त गरेको यो नतिजाले विद्यालय मात्र नभई पोखरा र समग्र गण्डकी प्रदेशलाई नै गौरवान्वित बनाएको विद्यालयले जनाएको छ ।
यस वर्ष केफ माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी १९५ विद्यार्थीमध्ये १८९ जना उत्तीर्ण भएका छन्। विद्यालयले ९७ प्रतिशत सफलता हासिल गरेको जनाएको छ। उत्तीर्णमध्ये २८ जनाले ३.६० देखि ३.९६ जीपीए, ९४ जनाले ३.२० देखि ३.६० जीपीए, ४३ जनाले २.८० देखि ३.२० जीपीए तथा २४ जनाले २.४० देखि २.८० जीपीए प्राप्त गरेका छन्। ६ जना विद्यार्थीको नतिजा ‘नन–ग्रेडेड’ (एनजी) रहेको छ।
विद्यालयका अनुसार नतिजाले विद्यार्थीहरूको निरन्तर मेहनत, अभिभावकहरूको भरोसा तथा शिक्षक–कर्मचारीहरूको समर्पणलाई प्रमाणित गरेको सहायक प्राचार्य भानुभक्त पोखरेलले बताउनुभयो । विद्यालयले उत्कृष्ट नतिजा ल्याउने निश्चल सुवेदीसहित सम्पूर्ण सफल विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उच्च शिक्षा र भावी जीवनका लागि शुभकामना व्यक्त गरेको छ।
पछिल्ला वर्षहरूमा पनि उत्कृष्ट शैक्षिक नतिजा दिँदै आएको केफ माध्यमिक विद्यालयले यस वर्ष पुनः राष्ट्रिय स्तरमै आफ्नो शैक्षिक क्षमता स्थापित गर्न सफल भएको छ।
