हिमाली आवाज । कृषि, पर्यटन र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा २१ औँ संस्करणको असारे रोपाइँ महोत्सव आयोजना गरिने भएको छ ।
पोखरा पर्यटन परिषद्ले आगामी असार १४ गते पोखरा महानगरपालिका–३० देउराली खोलाको छेउमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित महोत्सव आयोजना गर्न लागेको हो ।
हरेक वर्ष राष्ट्रिय धान दिवसका अवसरमा असार १५ गते रोपाई महोत्सव गर्ने गरिएपनि यस वर्ष पूर्णिमा परेको र कृषकले हल गोरु नचलाउने परम्परा रहेकाले एक दिन अघि सारिएको हो ।
महोत्सवमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे रोपाइँ संस्कृतिको प्रत्यक्ष अनुभव गराउने लक्ष्य लिइएको परिषद्ले जनाएको छ ।
महोत्सव बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष तारानाथ पहारीले भारतीय सहित विभिन्न मुलुकका पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको बताउनुभयो। उहाँले परम्परागत धान खेती प्रणालीको संरक्षण, कृषिप्रति युवापुस्ताको आकर्षण अभिवृद्धि तथा कृषि पर्यटनको विकासका लागि महोत्सवलाई निरन्तरता दिइएको जानकारी दिनुभयो।
“पोखरा भ्रमण वर्षलाई सफल बनाउने, गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिसँग जोड्ने उद्देश्य महोत्सवको रहेको छ ।” अध्यक्ष पहारीले भन्नुभयो।
महोत्सवका संयोजक तथा परिषद्का महासचिव जीवनराज सापकोटाले विदेशी पर्यटकलाई धान रोपाइँ, हिलो खेल तथा ग्रामीण जीवनशैलीको अनुभव गराउने विशेष कार्यक्रम समावेश गरिएको बताउनुभयो ।
कृषि र पर्यटनलाई एकै सूत्रमा जोड्दै स्थानीय उत्पादन, संस्कृति र जीवनशैलीको प्रवद्र्धनमा महोत्सवले योगदान पु¥याउने उहाँको भनाइ छ ।
पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले महोत्सवले लेखनाथ क्षेत्रसहित पोखराका अन्य पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुभयो ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले महोत्सवले स्थानीय आर्थिक गतिविधि र पर्यटन व्यवसायलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा हिले फुटबल, पत्रकार हिले दौड, माछा समाउने प्रतियोगिता, धान रोपाइँ प्रतियोगिता, रस्साकसी, साउने प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव पोखराको कृषि संस्कृति तथा पर्यटन प्रवद्र्धनलाई जोड्ने विशिष्ट कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । रोपाई महोत्सवमा आन्तरिक सहित विदेशी पर्यटक समेत उल्लेख्य सहभागी हुँदै आएका छन् ।
