भुर्तेल आधारभूत विद्यालयको भौतिक संरचना सुधारमा वडाको सहयोग

हिमाली आवाज ।  पोखरा महानगरपालिका वडा नम्बर २८ ले स्याङखुदीस्थित  भुर्तेल आधारभूत विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि निरन्तर सहयोग गर्दै आएको  छ।

यसै क्रममा साे विद्यालयलाइ वडाले  १ लाख ७० हजार रुपैयाँ बराबरको कम्प्युटर, प्रिन्टरलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेकाे हाे ।  कार्यक्रममा बोल्दै वडा नम्बर २८ का अध्यक्ष कृष्ण लामिछानेले विद्यालयको समग्र विकासका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो।

अध्यक्ष लामिछानेले विगतमा विद्यार्थी संख्या न्यून हुँदा विद्यालय मर्ज हुने अवस्थासम्म पुगेको स्मरण गर्दै अहिले विद्यालयको अवस्था सुधार हुँदै गएको बताउनुभयो। विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै भौतिक संरचना निर्माण तथा आवश्यक शैक्षिक सामग्री व्यवस्थापनमा वडाले प्राथमिकताका साथ सहयोग गर्दै आएको उहाँको भनाइ थियो।

विद्यालयमा आवश्यक भवन, कक्षाकोठा तथा अन्य भौतिक संरचनाको सुधारका लागि समेत वडाबाट सहयोग भइरहेको बताउँदै अध्यक्ष लामिछानेले विद्यालयलाई व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लैजान वडा कार्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। स्थानीय बालबालिकाले आफ्नै गाउँठाउँमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विद्यालयको विकासलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो।

विद्यालयको विकासका लागि वडा मात्र नभई विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहने अध्यक्ष लामिछानेको भनाइ छ। मर्ज हुने अवस्थाबाट अहिले नमुना विद्यालयका रूपमा विकास हुँदै गएको भुर्तेल आधारभूत विद्यालयको शैक्षिक वातावरणलाई थप सुधार गर्दै आगामी दिनमा अझ व्यवस्थित र आकर्षक विद्यालयका रूपमा विकास गर्ने लक्ष्य रहेको वडा अध्यक्ष लामिछानेले बताउनुभयो।

Comments
Loading...