विशाल सहकारीको २६ औँ स्थापना दिवस : मानव सेवा आश्रमलाई भोजन सहयोग

हिमाली आवाज । पोखरा महानगरपालिका–४ मा रहेको विशाल बचत तथा ऋण सहकारी लिमिटेडले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा रहेका असहाय तथा अनाथ व्यक्तिहरूलाई भोजन गराई सहयोग गरेको छ।

पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित मानव सेवा आश्रममा आयोजित कार्यक्रममा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत भोजन सौजन्य गरेको हो।
संस्थाका वरिष्ठ सल्लाहकार गोविन्दप्रसाद ढकालले सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार संस्थाले विगत २५ वर्षदेखि वित्तीय सेवाका अतिरिक्त विभिन्न सामाजिक तथा सदस्यहितका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार सहकारीले सदस्य सुरक्षा योजना, ज्येष्ठ नागरिक पेन्सन सुविधा, राहत सहयोग, छात्रवृत्ति योजना तथा विभिन्न अस्पताल र ल्याबसँग सहुलियतसम्बन्धी व्यवस्था गर्दै आएको छ।
त्यसैगरी समुदाय र वातावरणप्रतिको जिम्मेवारीलाई ध्यानमा राख्दै संस्थाले वार्षिक कार्ययोजनाअन्तर्गत वृक्षरोपण, रक्तदानलगायत सामाजिक कार्यक्रम पनि निरन्तर सञ्चालन गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालले बताउनुभयो । उहाँले भन्नुभयो,“ मानव सेवा आश्रममा गरिएको भोजन सहयोग पनि सोही सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम हो । ”

संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन उपाध्यक्ष बालकृष्ण ढकालले गर्नुभयो भने कार्यक्रमको व्यवस्थापन सचिव प्रदीपकुमार मुल्मीले गर्नुभएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष इन्द्रराज अर्याल, लेखा संयोजक रामकृष्ण दुवाडी, सञ्चालक ईउल कुमारी पुन, लेखा सदस्य ताराबहादुर श्रेष्ठ, प्रमुख व्यवस्थापक शिवप्रसाद भट्टराई, विभिन्न उपसमितिका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा मानव सेवा आश्रमका तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै मानवीय तथा सामाजिक सहयोगको निरन्तरता हुने अपेक्षा व्यक्त गरिएको थियो।

Comments
Loading...