भोटेकोशी बाढी उद्धार र राहतमा सक्रिय हुन निर्माण व्यवसायी संघ कास्कीको अपिल

गणेश पहारी, हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले आफ्ना सदस्य तथा निर्माण व्यवसायीहरूलाई भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सक्रिय हुन विशेष अपिल गरेको छ ।

तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि कास्की संघले सो अपिल गरेको हो ।

संघका अध्यक्ष लिलकाजी गुरुङले विशेष अपिल जारी गर्दै बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । संघले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा स्वास्थ्य उपचारलाई थप चुस्त बनाउन सम्बन्धित सबै सरकारी निकायलाई आग्रह गरेको छ।

विपद्को समयमा दुःखलाई शक्तिमा बदल्दै आपसी सहयोग र समन्वयमा जुट्न आग्रह गर्दै महासंघले सम्भव भएसम्म आफ्ना यन्त्र–उपकरणसहित निर्माण श्रमिक, मजदुर तथा अन्य जनशक्तिलाई उद्धार कार्यमा परिचालन हुन निर्माण व्यवसायीलाई आह्वान गरिएको छ ।

यस्तो विपद् सामना गर्नु कुनै एक व्यक्ति, संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै नागरिकप्रतिको साझा दायित्वका रूपमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था र आम नागरिकलाई समेत संघले आग्रह गरेको छ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको विवरण सार्वजनिक भइरहेका बेला निर्माण व्यवसायी संघ कास्कीको यो अपिल सार्वजनिक गरिएको हो ।

Comments
Loading...