प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज चयन

हिमाली आवाज । प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत चयन हुनुभएको छ । क्लबको शनिबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी तीन वर्षको लागि गिरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ (रोजी) र सहसचिवमा बालकुमारी पौडेल (तारा)लाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा संजय थापा र बसन्त गिरी हुनुहुन्छ ।

यसअघि साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधबप्रसाद बरालले गर्नुभयो । उद्घाटन सत्रमा सचिव गौरव त्रिपाठी र कोषााध्यक्ष राजु गिरीले प्रस्तुत गरेको प्रतिवेदनलाई बन्द सत्रमा छलफल सहित पारित गरेको थियो ।

क्लबले भदौ १३ गतेका लागि अधिवेशनको मिति तोकेको र भदौ १० गते रसुवामा आएको बाढिका कारण देशले बिपत्तिको सामना गर्नुपरेका कारण तामझाम सहित कार्यक्रम गर्न उपयुक्त नभएको भन्दै सामान्य रुपमा अधिवेशन सम्पन्न गरेको नवनिवार्चित अध्यक्ष एकराज गिरीले हिमाली आवाजसँग बताउनुभयो ।

“ देश शोकमा रहेका बेला तामझाम रुपमा कार्यक्रम गर्न उचित ठानेनौ । त्यसैले सामान्य रुपमा अधिवेशन र साधारण सभा सम्पन्न गरेका छौँ । आगामी दिनमा क्लबको उद्देश्य अनुरुप क्र्रियाशिल बनाउदै रचनात्मक कार्य गर्नेछौँ । ” अध्यक्ष गिरीले भन्नुभयो ।

विसं २०७९ मा स्थापना भएको क्लबले वार्षिक ५० हजार रुपैयाँ राशिको प्रेस क्लब पत्रकारिता पुरस्कार प्रदान गदै आएको छ । २०८१ सालमा पहिलो पुरस्कार पोखराका अग्रज फोटो पत्रकार कृष्णमणी बराललाई प्रदान गरेको थियो भने यस वर्ष २०८२ र २०८३ को पुरस्कार प्रदान गरिने अध्यक्ष गिरीले बताउनुभयो । वर्ष विभिन्न कारणले पुरस्कार प्रदान नसकेकाले यस वर्ष दुई वर्षको एकै पटक प्रदान गरिने संस्थाले जनाएको छ ।
प्रेस क्लब गण्डकीलाई साझा संस्थााको रुपमा अगाडी बढाइने क्लबका सचिव प्रकाश अधिकारीले बताउनुभयो ।

Comments
Loading...