– कृष्ण दवाडी
हिमाली आवाज । भोटेकोशी बाढीपछि बेपत्ता आफ्ना बुबाको सास नभए लास सम्म भएपनि भेटिने आशामा १० दिनसम्म शव राखिएका विभिन्न अस्पताल खोज्दै हिँडेका विनय अधिकारीले अन्ततः शुक्रबार कुशको शव बनाएर बुबालाई दागबत्ती दिनुप¥यो ।
बाढीमा रसुवाको टिमुरेस्थित भन्सार कार्यालयबाट सम्पर्कविहीन हुनुभएका कार्यालयका सवारी चालक ४७ वर्षीय गोविन्द बहादुर अधिकारीको कुनै खबर नआएपछि परिवारले हिन्दू संस्कार अनुसार उहाँको प्रतिकात्मक शव बनाएर पोखराको रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरेको हो ।
पोखरा–१४ समावेशी टोलका अधिकारी रसुवाबाट तीजमा घर आउने योजनामा हुनुहुन्थ्यो । दिदीबहिनीसँग तीज मनाउने र उनीहरूलाई नयाँ कपडा उपहार दिने उहाँको इच्छा थियो ।
विनाशकारी बाढीको अघिल्लो साँझ परिवार र दिदीबहिनीसँग भिडियो कल गर्नुभएको थियो । किनेका कपडा देखाउँदै उहाँले सोध्नुभएको थियो, “यो कलर कस्तो छ ?” भदौ २६ गते घर आउने, दिदीबहिनीलाई तीजको उपहार दिने र परिवारसँगै चाड मनाउने योजना भदौ १० गतेको विनाशकारी बाढीले सधैँका लागि अधुरै बनाइदियो ।
“तीजमा आउँदै छु दिदी । सारी किनिदिएको छु । यो रङ कस्तो लाग्छ हजुरलाई भनेर भिडियोमा देखाएको थियो” दिदी लिलाले भाइलाई सम्झँदै विलौना गर्नुभयो, “सधैँ सबैलाई खुसी बनाउने थिइस्, अहिले रुवाएर गइस् ।”
अधिकारी बाढी लगत्तै सम्पर्कविहीन हुनुभएको थियो । घटनाबाट ज्यान जोगाउन सफल सहकर्मीका अनुसार बाढी आउनुअघि अधिकारी अन्य साथीहरूसँगै कार्यालयकै काममा हुनुहुन्थ्यो । एक्कासी आएको बाढीपछि को कहाँ पुग्यो भन्ने पत्तो नै भएन ।
परिवारले सकुशल घर फर्किने आश मारिसकेको थिएन । तर बिहीबार घटनास्थलको प्रत्यक्ष अवलोकन गरी पोखरा फर्किएपछि परिवारको त्यो आशा पनि टुट्यो ।
बाढी आएको दिन बिहान बुबासँग सम्पर्क भएको तर त्यसपछि कुनै कुराकानी हुन नसकेको छोरा विनयले बताउनुभयो । “बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौँ । तर केही जानकारी पाउन सकिएन,” मलिन अनुहार र सानो स्वरमा उहाँले भन्नुभयो, “हिजो टिमुरे पुगेर साँझ फर्किएपछि त्यहाँको अवस्था र त्यहाँको क्षति देख्दा अब बुबा आउनुहोला भनेर आशा गर्ने ठाउँनै रहेन ।”
बुबा बेपत्ता भएपछि कम्तीमा शव भए पनि भेटिन्छ कि भन्ने आशामा परिवारले विभिन्न अस्पताल र स्थानमा खोजी गरेको उहाँले बताउनुभयो । धादिङमा एउटा शवको तस्बिर अधिकारीसँग मिल्दोजुल्दो देखिएपछि परिवार पहिचानका लागि त्यहाँसम्म पुगेको थियो। तर प्रत्यक्ष रूपमा शव हेर्दा त्यो अधिकारीको नभएको पुष्टि भयो ।
“धादिङमा भेटिएको शवको तस्बिर हेर्दा मिल्दोजुल्दो देखिएपछि हामी गयौँ,तर हातमा भएको ट्याटुका आधारमा त्यो शव बुबाको नभएको पुष्टि भयो ।” उहाँले भन्नुभयो ।अधिकारीका छिमेकी तथा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले अधिकारी सम्पर्कविहीन भएदेखि नै समावेशी टोलमा सन्नाटा छाएको बताउनुभयो ।
सहयोगी, मिलनसार र सामाजिक स्वभावका अधिकारी बेपत्ता भएपछि टोलवासी पनि निरन्तर खोजीमा जुटेको उहाँले बताउनुभयो । “जागिरका क्रममा उहाँ टिमुरे गए पनि हामीबीच दैनिकजसो कुराकानी हुन्थ्यो । कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो । साथीको यस्तो अकल्पनीय घटनाले हामीलाई गहिरो पीडा दिएको छ ।” बरालले भन्नुभयो ।
सामाजिक कार्यमा सक्रिय अधिकारी गीत–सङ्गीतमा पनि उत्तिकै रुचि राख्नुहुन्थ्यो । समावेशी टोलको सहसचिवका रूपमा उहाँले टोलका समस्या समाधान र विकासका काममा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
साथीभाइ जम्मा भएको बेला मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउने उहाँको कला अहिले टोलवासीका लागि सम्झना बनेको छ । छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली कहिल्यै छुटाउनुहुन्नथ्यो।
“साथीभाइ जम्मा हुनेबित्तिकै उहाँ मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो । उहाँ घरमा हुँदा मुरली सधैँ साथमै हुन्थ्यो,” पाण्डेले भन्नुभयो, “त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौँ । अर्को उहाँको सम्झनाका लागि घरमै राखेका छौँ ।”
तनहुँको तत्कालीन मिजुङ गाविस तथा हालको भानु नगरपालिका–५ स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४, समावेशी टोलमा बसोबास गर्दै आएको छ । उहाँका आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी हुनुहुन्छ।
रसुवाको विनाशकारी बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन रहेका छन्। घटनामा परेका र हालसम्म कुनै जानकारी नपाएकाका परिवार अझै पनि आफ्ना प्रियजन फर्किने झिनो आशामा छन् ।
बाढीपछि सम्पर्कविहीन भएका तीन जना भने पछि परिवारको सम्पर्कमा आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । अन्यको अवस्था भने हालसम्म अज्ञात रहेको उहाँले जानकारी दिनुभयो ।
