हिमाली आवाज । नेपाल पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आज पोखराका क्रियाशील पत्रकार रविना आले ‘मीना सिर्जनशील समावेशी’ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महासङ्घमा आयोजित कार्यक्रममा उहाँलाई नगद रु २० हजार १११ र सम्मानपत्रबाट सम्मान गर्नुभयो ।नेपाल पत्रकार महासङ्घ कास्की शाखाले सञ्चालन गर्दै आएको सो पुरस्कार पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा योगदान गरेकामा यस वर्ष आलेलाई प्रदान गर्ने निर्णय गरिएको थियो ।
पुरस्कृत व्यक्तित्व आले हाल रेडियो तरङ्ग र हिमदुत दैनिकमा आवद्ध हुनुहुन्छ । विसं २०६३ देखि पत्रकारिता पेसामा क्रियाशील उहाँ नेपाल प्रेस युनियन कास्कीको कार्यवाहक अध्यक्ष समेत हुनुहुन्छ ।पुरस्कारले मिडिया क्षेत्रमानै क्रियाशील हुन प्रेरणा मिलेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सञ्चारमन्त्री थापाले लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवि पत्रकारहरुको हकहितका लागि पत्रकार महासङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
प्रदेश सरकार पत्रकारमैत्री कानून निर्माण गर्न प्रतिबद्ध बताउँदै पत्रकारहरुले पनि सत्य, तथ्य सूचना प्रवाह गर्दै आवाजविहिन जनताका आवाजलाई बुलन्द पार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,“प्रदेशको आमसञ्चार विधेयक विद्यायन समितिमा गएको छ,पत्रकारका विज्ञ साथीहरुसँग छलफल समेत गरिसकेका छौँ । विधेयकमा देखिएका समस्यालाई संशोधन गर्दै पत्रकारलाई सहज वातावरण बनाउने गरी कानून बनाउने छौँ ।”
पुरस्कारका संस्थापक एवं गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले पत्रकारिता क्षेत्रमा महिलाहरुले भोग्नुपरेको पीडालाई कम गर्न र उनीहरुलाई हौसल प्रदान गर्न पुरस्कार स्थापना गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले कोरोनापछि छापा पत्रकारिता क्षेत्र सङ्कटमा परेपनि न्यू मिडियाका क्षेत्रमा भने अवसर मिलेको बताउनुभयो ।
महासङ्घका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पँगेनीले महिला पत्रकारहरुलाई आफ्नो पेसामा अघि बढ्न घरपरिवारबाट सहयोगको खाँचो रहेको बताउनुभयो ।प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले नेपालमा प्रजातन्त्र ल्याउन पत्रकारहरुले गरेको कामको प्रशंसा गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोलाले महासंघ नागरिक अधिकारको पक्षमा लड्दै आएको बताउनुभयो ।
शाखा अध्यक्ष विमला भण्डारीले महासङ्घले कास्कीका पत्रकारहरुको हकहित र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

