हिमाली आवाज । एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट जुम्लामा १० जनाको मृत्यु भएको छ । एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभएको छ ।
मंगलबार विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लामा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै उहाँले कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको बताउनुभयो ।
प्रजिअ केशरीले भन्नुभयो,“गुठीचौर गाउँपालिकामा एक र हिमा गाउँपालिका एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिकाकै एक जना अझै बेपत्ता रहेका छन् । सदरमुकाम खलङ्गामा विद्युत्, सञ्चार एक सातादेखि अवरुद्ध छ ।”
उहाँका अनुसार जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा र दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ । अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिपूर्तिको एकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागि परेको बताइन्छ।

