हिमाली आवाज । पोखरामा नवौँ राष्ट्रिय खेलकुदकाबीच आइतबार प्याराग्लाइडिङ दुर्घनामा निधन भएका निसिम थापाको शवयात्रा सहित अन्त्येष्टि गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालदेखी रामघाटसम्म थापाको शवयात्रा गरिएको थियो । थापाको निधनबाट परिवारका सदस्य भावविह्ल बनेर अझै सम्हालिन सकिरहेका छैनन् । अन्यका आँखाबाट आँसु झरेका थिए ।
खेलकै क्रममा सराङकोटबाट उडान भरेको केही क्षणमै प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरा महानगरपालिका–१० निवासी २६ वर्षीय खेलाडी निसिमको निधनपछि खेलाडी, खेलपदाधिकारी तथा प्याराग्लाइडिङमा आवद्ध उहाँका साथीभाई स्तब्ध बनेका छन् । राम्रो सम्भावना बोकेको खेलाडीलाई छोटो समयमै गुमाउँदा उनीहरु सुकसुकाइरहेका थिए ।
थापाको रामघाटमा नेपाली सेनाले निसिमलाई सलामी अर्पण गरेको थियो । निसिमलाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो सङ्ख्यामा रामघाटमा खेलकुदसँग सम्बन्धित व्यक्तित्वको उपस्थिति थियो । निसिमको निधनले नेपालले राम्रो सम्भावना बोकेका खेलाडी गुमाएको धेरैको अनुभुति गरेका छन् । थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका निसिममा राम्रो क्षमता रहेको र उदीयमान खेलाडी रहेको गण्डकी प्रदेश प्याराग्लाइडिङ सङ्घका अध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो ।
निसिमले प्याराग्लाइडिङ उडान भर्न सुरु गरेकै १० वर्ष भएको विश्व हवाई खेलकुद महासङ्घ (एफएआई) को लाइसेन्स प्राप्त गरिसकेकोले उहाँ अनुभवि र व्यवासायिक पाइलट रहेको दवाडीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ निसिम एफएआई क्याटोगरीमा रजिष्टर उदीयमान खेलाडी थिए , प्याराग्लाइडिङको इतिहासमा हामीले राम्रो मान्छे गुमाएका छौँ । खेल अनुशासन लगायत हरेक कुरामा उनी अब्बल थिए । ”
छिमेकी मुलुक चीन, भारत,इन्डोनेसिया लगायत देशहरुमा निसिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्नुभएको थियो । उहाँ राम्रो व्यावसायिक पाइलट रहेकाले देशले असल पाइलट गुमाएकाले आफूहरु स्तब्ध बनेको दवाडी बताउनुहुन्छ ।
“होनहार प्याराग्लाडिङ खेलाडी अनि पाइलट गुमाऔँ ।” दवाडीले भन्नुभयो । काका भेनिस थापा प्याराग्लाइडिङ व्यवसायमा रहेकाले उहाँमार्फतनै निसिम यस क्षेत्रमा जोडिनुभएको हो ।
नेपाल हवाई खेलकुद संस्थाका पूर्व उपाध्यक्ष इन्द्र भण्डारी निसिममा अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्ने उज्जवल सम्भावना रहेको स्मरण गर्नुहुन्छ । विगतमा व्यक्तिगत तथा टिम इभेन्टहरुमा गरेको प्रदर्शनका आधारमा उहाँमा धेरै राम्रो सम्भावना रहेको भण्डारीले सुनाउनुभयो ।
प्याराग्लाइडिङ खेलाडी निसिमको दुर्घटनामा निधन भएपछि राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको प्रतिस्पर्धा स्थगन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

