हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताउनुभएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीको आज समापन समारोहमा उहाँले आफू देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको उल्लेख गर्दैै नेतृत्व गर्ने अवसर पाउँदा अविस्मरणीय र आउँदा पिँडीले देख्ने, बुझ्ने र सिक्ने गरी विकासका परियोजना अघि बढाउने बताउनुभयो ।
अध्यक्ष दाहालको जन्मस्थल र प्रारम्भिक शिक्षा हासिल गरेको सो विद्यालयको कार्यक्रममा उहाँले भन्नुभयो,“अब मसँग धेरै वर्ष समय छैन । तपाईहरुको आर्शिवाद, माया र शुभकामनाले काम ग¥र्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।” अध्यक्ष प्रचण्डले अन्नपूर्ण गाउँपालिकाको विकासका लागि आफूले ध्यान दिने बताउँदै विकास योजनाका लिष्ट लिएर काठमाडौँ आउन समेत जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो,“ यस ठाउँका लागि विगतमा मैले यो भन्दा पनि बढी गर्नुपथ्र्यो तर विविधि कारणले हुन सकेन । यहाँका जनप्रतिनिधिलाई भन्न चाहन्छु तपाईहरुले विकासका योजनाको लिष्ट लिएर म कहाँ आउनुहोला।”
अध्यक्ष प्रचण्डले आफुलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो पहिलो कार्याकाल राम्रोसँग विधि प्रक्रिया र सबै उतार चढाव बुझ्न नपाई व्यतित भएको र दोस्रो कार्यकालमा देशका लागि राम्रो काम गर्न सकेकामा गर्व लागेको बताउनुभयो ।
राष्ट्रको एकतालाई सुदृढ गर्ने, मधेश, पहाड र हिमाललाई एकतावद्ध गरी सिङ्गो देशलाई लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउनका लागि दोस्रो कार्यकालमा आफू सफल भएको अध्यक्ष प्रचण्डले स्मरण गर्नुभयो ।
अध्यक्ष दाहालले आफ्नो बाँकी जीवन सुशासन र विकासका लागि बिताउने बताउदै यस पटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दलका नेताहरुलाई केही चुनौती र अवसर दिएको उल्लेख गर्नुभयो । सबै दलहरुले समिक्षा गरी आर्थिक विकास र समृद्धि गर्ने अभियानमा लाग्नुको विकल्प नभएको अध्यक्ष प्रचण्डको भनाई थियो ।
उहाँले भन्नुभयो,“हामीले गम्भीर समिक्षा सहित आउदो दिनमा सुशासनको दृष्टिकोणले पनि विकास र समृद्धिको दृष्टिकोणले पनि नयाँ अभियान सुरु गर्न सकेनौं भने आउने दिनमा देशमा निकै अप्ठ्यारो हुन सक्छ ।”
निर्वाचनमा केही नयाँ दलहरु जन्मेको हुनाले यसलाई सकरात्मक रुपमानै लिनुपर्ने उहाँको भनाई छ । अन्नपूण गाउँपालिकाका अध्यक्ष बिष्णु केसीले अन्नपुर्ण सहित नेपालको विकास र समृद्धिको प्रचण्ड पुनः प्रधानमन्त्री बन्नुपर्ने बताउनुभयो ।प्रचण्ड जन्मेको क्षेत्रमा हाल धुलाम्मे सडक भएकोले यहाँको विकासको लागि प्रचण्डको सहयोग आवश्यक भएको उहाँले बताउनुभयो ।

