हिमाली आवज ।पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ ।पोखरा रंगशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा सिइसी काठमाडौंलाई पाँच विकेटले हराउँदै घरेलु टोली गण्डकी च्याम्पियन बन्यो ।
प्रतियोगिताको पहिलोपटक उपाधि जितेको गण्डकीले रु १० लाख सहित ट्रफी पुरस्कार पाउँदा उपविजेता काठमाडौँले रु पाँच लाख र ट्रफी पुरस्कार पायो ।फाइनल खेलमा जितका लागि एक सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ ओभरको तेस्रो बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो ।
गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा ‘नटआउट’ रहँदै टोलीलाई जित दिलाए । बसन्तले १७ बलमा ३ छक्का प्रहार गरे भने, नारायणले १० बलमा १ छक्का प्रहार गरे । किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै बाहिरिए ।

काठमाडौंका लागि दीपेन्द्र रावतले तीन विकेट लिदाँ मनोज यादव र सूर्य तामाङले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९ ओभरको चौथो बलमा अलआउट हुँदै एक सय ८२ रन बनाएको थियो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै ‘क्याचआउट’ हुन पुुगे ।
पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान तीन÷तीन विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले दुई÷दुई विकेट हात पारे ।
प्रतियोगितामा काठमाडौंका दीपेन्द्र रावत ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै रु ३० हजार पुरस्कार पाए ।
उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान रु २० हजार पाए । प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे लगायतले पुरस्कार वितरण गर्नुभयो ।
गत चैत २३ गतेबाट सुरु भएको प्रतियोगितामा कू १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बागमती प्रदेशबाट चार र अन्य प्रदेशबाट दुई÷दुई वटा टोलीको सहभागिता थियो ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीले एकेडेमीका संस्थापक रहनुभएका प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा गत वर्षदेखी प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघिको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।