कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–११ पोडे स्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरी सहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

समुन्द्री सतहदेखी तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिंढी हाल्ने र रेलिङ निर्माण कार्यमा खटिएका नौ जना मध्ये बाँकी सात जना भने सकुशल रहेका छन् ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबारनै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ । त्यहाँबाट पैदल पाँच घण्टा भन्दा बढी समय लाग्ने भएकाले दिउसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ । ” नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माणको काम सुरु भएको गाउँपालिकाले जनाएको छ ।

Comments
Loading...