हिमाली आवाज । नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई भव्य बनाउन विभिन्न संघ–संस्थाले नगद तथा प्रयोजन सहयोगको घोषणा गरिरहेको अवस्थामा पोखरा ६ लेकसाइडको बुमर्याङ रेष्टुरेष्टले सहयोगको घोषणा गरेको हो । मंगलबार रेष्टुरेष्टका सञ्चालक गणेश बहादुर भट्टराई र मञ्चका अध्यक्ष एमबि आस्था मगर बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
त्यस्तै मंगलबारनै अवार्डलाई सफल बनाउन अफिसियल पानीको प्रायोजन सोल्टी पानी र अफिसियल एयरलायन्सको रुपमा यति एयरलायन्स रहने मञ्चले जनाएको छ । सोल्टी पानीको तर्फबाट निर्देशक प्रेम क्षेत्री र यति एयरलायन्सका तर्फबाट एयरलायन्सका पोखरा शाखा प्रमुख राम लामिछानेसँग मञ्चका अध्यक्ष मगर बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नवौं संस्करणको यो अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । त्यस्तै उदीयमान खेलाडी विधाको पुरस्कार प्रायोजन सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपाल, उत्कृष्ट खेलकुद संस्था विधाको पुरस्कार प्रायोजन निट डेन्टल केयर र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रयोजन सिटिजन फर्निचरले गर्ने सम्झौता भइसकेको छ । त्यसैगरि जिल्ला एथ्लेटिक्स सङ्घ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान, पोखरा पिज्जा हाउसलगायतका संस्थाले समेत सहयोगको घोषणा गरिसकेका छन् ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो ।