अन्नपूर्ण पदमार्गमा नेपाली सेनाको सरसफाई,दुई सय ९० केजी फोहर संकलन

हिमाली आवाज । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण पदयात्रा मार्गमा नेपाली सेनाले सरसफाई अभियान सञ्चालन गरेको हो ।
सेनाको पोखराको फूलबारीमा अवस्थित श्री कृष्ण दल गणले यही वैशाख २१ देखी २५ गतेसम्म झिनुडाँडादेखी देउरालीसम्म सफाई अभियान सञ्चालन गरेको हो । सो क्रममा दुई सय ९० केजी प्लाष्टिकजन्य फोहर संकलन भएको अभियानको नेतृत्व गर्नुभएका कृष्णदल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणको जिम्मेवारी क्षेत्र कास्की जिल्लामा पर्यटन व्यवसाय तथा गतिविधिलाई प्रवर्धन, पर्यटकहरुको सुरक्षा तथा पर्यावरण सन्तुलनमा योगदान दिने उद्देश्यले स्थानीय सरोकारवालासंगको सहकार्यमा कार्यक्रम गरिएको हो ।

“अन्नपूर्ण आधार शिविर पदयात्रा विश्वमै प्रख्यात छ । स्वदेशी तथा विदेशी पदयात्रीको प्रमुख गन्तव्य यस क्षेत्रमा पर्यटकले फालेका सामानले फोहर बढ्दै गएको थियो । पदयात्रा क्षेत्रलाई सफा र पर्यावरण संरक्षणका लागि अभियान सञ्चालन गरेका हौँ ।” प्रमुख सेनानी पुडासैनीले भन्नुभयो ।
सरसफाई अभियान अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिकाको झिनु, छोम्रोङ्ग, तल्लो छोम्रोङ्ग, सिनुवा, देउराली, बाम्बो क्षेत्रमा सरसफाई गरिएको हो । कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना(एक्याप) का प्रतिनिधि, स्थानीय होटल व्यवसायी, आमा समुह तथा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको बताइन्छ ।

पश्चिम पृतनाका पृतनापति उपरथी मधुकर सिंह कार्कीको ‘पदयात्रा मार्ग सरसफाई अभियान’ को अवधारणा र श्री नं.३ वाहिनी अड्डाको निर्देशन बमोजिम कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ । अभियानका क्रममा संकलित फोहरमैला अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई हस्तान्तरण गरिएको थियो ।

Comments
Loading...