हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’मा वर्ष खेलाडीको उपाधि अरुणा शाही र विश्वास अधिकारीले जित्नुभएको छ ।
वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीन मध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेकी अरुणा शाही घोषित हुनुभएको हो । यसँगै अरुणाले हालसम्म तीन पटक वर्ष उत्कृष्ट खेलाडी बन्न सफल हुनुभयो ।

यसैगरी पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बन्नुभयो । अवार्डका साथ उहाँहरु दुबैले टेलजी इलेक्ट्रिक स्कुटर पुरस्कार पाउनुभयो ।
वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ समेत मनोनयनमा पर्नुभएको थियो । पुरुषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ हुनुहुन्थ्यो ।
उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरीले अवार्ड प्राप्त गर्नुभयो । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा हुनुहुन्थ्यो । टेनिसका निरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ बन्नुभयो ।
उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त ग¥यो भने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले प्राप्त गर्नुभयो। । उत्कृष्ट बन्न सफल सबैले अवार्ड सहित नगद रु ३५ हजार पुरस्कार पाउनुभयो ।
मञ्चले ‘लाइफटाइम अचिभेमन्ट अवार्ड’बाट सुटीङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उहाँलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको हो ।
अवार्ड विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुदमन्त्री विन्दुकुमार थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभयो ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले विसं २०७२ देखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।