हिमाली आवाज । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा असार महिनाभित्रै कालोपत्र सक्ने तयारी साथ काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर दूरीमध्ये अब करिब तीन किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी रहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।

यो खण्डको म्याद तेस्रोपटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार व्यास नगरपालिकाको दमौली बजारको एक किलोमिटर ८०० मिटर, बन्दीपुर गाउँपालिकास्थित डुम्रे बजार नजिक ३०० मिटर र सोही गाउँपालिकाको विमलनगरमा ७०० मिटर खण्डमात्रै कालोपत्र गर्न बाँकी छ ।
दमौली बजारअन्तर्गत बागबजार र मुख्यचोकमा एकतर्फी कालोपत्र भइसकेको छ । अर्कोतर्फ कालोपत्रका लागि पूर्वतयारीका काम जारी छ । त्यस क्षेत्रमा कालोपत्रका लागि काम भइरहेको छ । पूर्वी खण्डका कालोपत्र सकिएका ठाउँमा सडक मार्किङ गर्ने काम पनि भइरहेको छ । पाण्डले भन्नुभयो,“तेस्रोपटक थप भएको म्यादभित्रै बाँकी काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको छ ।”