हिमाली आवाज । जिल्ला प्रहरी कार्यालय कास्कीले पहिलोपटक सोमबार प्याराग्लाइडिङ पाइलटहरुले उडान अघि मादक पदार्थ सेवन(मापसे) गरे÷नगरेको परीक्षण गरेको छ ।
पोखराको पर्यटकीय आकर्षणको रुपमा रहेको प्याराग्लाइडिङ पाइलटहरुले मापसे र लागूपदार्थ सेवन(लापसे) गरी उडान गर्ने गरेको सूचनापछि प्रहरीले प्याराग्लाइडिङ उडानस्थल पोखरा–२४ मान्द्रेढुँगामा गएर उडानको तयारीमा रहेका ३९ जना पाइलटहरुको जाँच गरेको हो ।
परीक्षणका क्रममा एक जनाले मापसे र लापसे दुबै गरेर उडान भर्ने तयारी गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिनुभयो ।
उहाँले मापसे गर्ने प्याराग्लाइडिङ पाइलट विशाल बहादुर क्षेत्रीलाई नियन्त्रणमा लिइएको र कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । “प्याराग्लाइडिङ पोखरामा पर्यटकको रोजाईमा पर्ने गरेको छ । यस क्षेत्रलाई सुरक्षित र मर्यादित गर्ने उद्धेश्यले पाइलटको मापसे जाँच गरेका हौँ ।” प्रहरी उपरीक्षक ओलीयाले भन्नुभयो ।
प्याराग्लाइडिङ कम्पनीहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था(ना)का अध्यक्ष अनिल केसीले प्रहरीले गरेको कार्यले यस क्षेत्रलाई थप सुरक्षित र विश्वसनीय बनाउन सहयोग पुगेको बताउनुभयो । यसबाट पाइलटहरुलाई आप्नो पेशाप्रति थप जिम्मेवार बनाएको उहाँको भनाई छ ।
“नागरिक उड्डयन प्राधिकरणले समेत बेला बेलामा पाइलटको मापसे र लापसे परीक्षण गर्ने गरेको थियो । तर आज प्रहरी आएर पहिलो पटक परीक्षण सगै सुरक्षाका लागि अपनाउनु पर्ने विषयमा पाईलटहरुलाई जानकारी दिएकाले यस्ले आफनो पेशाप्रति पाईलटहरुलाई अझ जिम्मेबार बनाएको छ । ” केसीले भन्नुभयो ।
पोखरामा हाल दुई सय ७० प्याराग्लाइडिङ पाइलट रहेका छन् । देशको पर्यटकीय राजधानी पोखरा घुम्न आउने पर्यटकहरुले साहसिक प्याराग्लाइडिङमा रमाउने गरेका छन् । पोखरा सराङकोटबाट उडान भरेर फेवाताल किनारमा अवतरण गर्ने गरिएको छ ।