माओवादीलाई सरकार भन्दा व्यवस्थाको रक्षा महत्वपूर्ण छ:उपमहासचिव पुन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन(अनन्त)ले माओवादी केन्द्रले अहिले सरकारलाई प्राथमिकतामा नराखेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विसं २०८४ को चुनावपछि ताजा जनादेशपछि मात्र सरकारमा जाने बताउनुभयो । उहाँले माओवादी केन्द्र अहिलेको व्यवस्थालाई बचाउन लाग्ने समेत बताउनुभयो ।

नेता पुनले भन्नुभयो,“व्यवस्था हाम्रो रगत पसिना खर्च गरेर ल्याएका छौँ त्यसैले अहिलेको व्यवस्थालाई परिस्कृत गरेर अझै बलियो बनाउनुपर्दछ । ” माओवादीले व्यवस्थको रक्षाका लागि गरेको कार्यक्रमले वर्तमान सरकारलाई समेत सहयोग पुगेको उहाँले बताउनुभयो ।

नेता पुनले सरकार गठन÷विघटनमा नलाग्ने समेत बताउनुभयो । “लोकतान्त्रिक व्यवस्थमा प्रमुख प्रतिपक्षी वेटिङ गर्भमेन्ट हो तर अहिले सरकार बनाउने र सरकारमा जाने हाम्रो प्राथमिकता र रुची छैन । हामी अर्को निर्वाचनको तयारीका लागि जनताका बीचमा अभियान सहित गएका छौँ । अहिलेको सरकार सरकार ढलेपछि के गर्ने भन्ने उपाय छ । त्यो भनेको जनमतका हिसाबले समेत पहिलो दलको नेतृत्वमा सरकार बनाउनुपर्दछ ।” उपमहासचिव पुनले भन्नुभयो ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका नेता पुनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारका बारेमा न्यायिक छानविन समिति गठन गर्नुपर्ने बताउनुभयो ।

उपमहासचिव पुनले भन्नुभयो,“संसदको उपसमितिले विमानस्थलको बारेमा एउटा प्रतिवेदन दिएको छ । त्यो समितिको प्रतिवेदनका आधारमा विज्ञ सहितको न्यायिक छानविन समिति गठन गरेर दोषी उपर कारवाही गर्नुपर्दछ ।”

Comments
Loading...