माओवादी जागरण अभियान राष्ट्रिय एकताको अभियान बन्न पुग्यो :अध्यक्ष दाहाल

हिमाली आवाज । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको बताउनुभएको छ ।

अभियानका क्रममा पोखरा आइपुगेको अवसरमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बैतडीदेखी सुरु भएर पोखरासम्म आइपुग्दा सबैको अभियान बनेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो,“स्थानीय तहमा नेपाली काँग्रेस तथा नेकपा(एमाले)का सरकार भएका ठाउँमा समेत अभियानको स्वागत,अभिनन्दन र अभियान सफलताको शुभकामना व्यक्त गरिएको छ । सयौँ ठाँउमा प्रत्यक्ष सहयोग समेत भएको छ । यो माओवादीको मात्र अभियान नभएर राष्टिय एकताको अभियान र देशमा राजनीतिक अस्पष्टा र अराजकताको समाधानको अभियान बन्न पुगेको पुगेको छ । ”

अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग केन्द्रीत जनजागरण अभियानको पहिलो चरण शनिबार पोखरामा सभा आयोजना पछि रोकिने समेत जानकारी दिनुभयो ।

अभियानका क्रममा पार्टीका सबै शीर्ष नेताहरु सहभागी भएको र त्यस क्रममा जनता, व्यवसायी, कर्मचारी, बुद्धिजीविहरु लगायतबाट प्राप्त सुझावहरुलाई पार्टीले ग्रहण गरेको समेत बताउनुभयो । उहाँले जनताले राखेका मागहरु सरकारलाई बुझाइने र आगामी बजेटमा सम्वोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

“ विभिन्न संघसंस्था, राजनीतिक पार्टी र जनताका मागहरु प्राप्त भएका छन् । ती मागहरु सरकारलाई बुझाउने योजना छ र सरकारलाई बजेट विनियोजन गर्न आग्रह गर्नेछौँ ।” अध्यक्ष दाहालले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले पार्टीले सरकार हुँदा र अहिले प्रतिपक्षमा रहँदा समेत सामाजिक न्याय र आर्थिक समृद्धि तथा सुशासनका मुद्धाहरुलाई नछाडेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ सामाजिक न्याय र आर्थिक मुद्धा जनतामा जाँदा समेत त्यही मुद्धा रहेको छ । यसका लागि सदन र सडकमा समेत खबरदारी गछौँ र सरकारलाई सच्चिनका लागि आग्रह गर्दछौ । ”

Comments
Loading...