हिमाली आवाज । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अबको एक वर्षमा देश सिँगै माओवादीमय हुने बताउनुभएको छ । साथै उहाँले आगामी निर्वाचनमा माओवादी पहिलो दल बन्ने आधार तयार भएको बताउनुभयो ।
पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ अन्तर्गत आज पोखरामा आयोजना गरिएको सभामा उहाँले सो कुरा बताउनुभएको हो । यसैगरी प्रचण्डले कार्यकारी राष्ट्रपतिका लागि जनतालाई प्रशिक्षित र परिचालित गर्नका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो,“संविधानसभाबाट संविधान बनाउँदा यस संविधानले स्थिरता र आर्थिक समृद्धि ठिक ढंगले अघि बढाउन सक्दैन भनेका थियौँ । देशलाई स्थिरता दिँदैन भनेका थियौँ । अहिले गणतन्त्र एक प्रकारको र निर्वाचन प्रणाली तथा शासकीय स्वरुप अर्को ढंगको भएको छ । अब कार्यकारी राष्ट्रपतीय शासन व्यवस्थाका बारेमा जनतालाई प्रशिक्षित गर्नु आवश्यक छ ।”

अध्यक्ष दाहालले संविधान निर्माणको बेलामा प्रत्यक्ष निर्वाचित कार्यकारी भनेपनि आफ्नै अडानमा बस्दा संविधान नबन्ने देखिएकाले ‘नोट अफ डिसेन्ट’ सहित अडान छाडेको बताउनुभयो ।
“देशको स्थायित्व र सुशासनका लागि माओवादीलेनै पहल गर्नुपर्दछ । रुपान्तरणको अभियान छेडन्पर्दछ भनेर लागिपरेको छौँ । रुपान्तरणको अभियान नेतृत्वबाट सुरु गरिएको छ, सबैले आत्मसमिक्षा गर्नुहोला । ” अध्यक्ष प्रचण्डले भन्नुभयो ।
समाजवादी क्रान्तिको आधार तयार गरेर लैजाने सपना सहित जनजागरण अभियान अघि बढाइएको दाहालले बताउनुभयो । उहाँले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना संविधानले गरेपनि समाजवादका बारेमा स्पष्ट नभएकाले आधार तयार गर्नका लागि माओवादीले जनतासँग सम्पर्क बढाएको बताउनुभयो ।
“देशलाई नयाँ क्रान्तिको आवश्यकता छ त्यसैले नेताहरु रातदिन खट्नुको उद्धेश्य जनतासँगका सम्बन्ध जोड्नका लागि हो, समाजवादका लागि तयारीका लागि हो ।” अध्यक्ष दाहालले भन्नुभयो ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले उठाएका सामाजिक न्याय र आर्थिक समृद्धि तथा सुशासनका मुद्धाहरुलाई जनताका बीचमा लैजान आग्रह गर्नुभयो ।
महासचिव देव गुरुङले माओवादी नेतृत्वको सपना र दृष्टिकोण अनुसार निर्माण सुरु भएको मध्यपहाडी लोकमार्गको बाँकी काम समेत छिटै पूरा गर्नका लागि सरकालाई दवा दिने बताउनुभयो ।